काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि चीन जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार (जेठ २९ गते) एक विज्ञप्ति जारी गर्दै मन्त्री खनालको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त वार्तामा नेपाल र चीनबिचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशको पारस्परिक हित र सहयोगलाई अघि बढाउने विषयमा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीन बसाइका क्रममा मन्त्री खनालले त्यहाँका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन्। यसका साथै, नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा समेत उनी सहभागी हुनेछन्।
दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सरिक भई मन्त्री खनालले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने कार्यतालिका छ। परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।