कांग्रेसले बढायो क्रियाशील सदस्यता अद्यावधिकको म्याद, पाँच लाखभन्दा बढी सदस्यले पाए डिजिटल परिचयपत्र

कांग्रेसले बढायो क्रियाशील सदस्यता अद्यावधिकको म्याद, पाँच लाखभन्दा बढी सदस्यले पाए डिजिटल परिचयपत्र

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म पाँच लाखभन्दा बढी सदस्यले डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ। पार्टीले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक कार्यलाई निरन्तरता दिन म्याद पनि थप गरेको छ।

कांग्रेसद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिकका लागि योग्य ठहरिएका सात लाख ८२ हजार २०९ सदस्यमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन्।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत प्रणालीमा अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।

यसअघि क्रियाशील सदस्यता अद्यावधिकका लागि जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा तोकिएको थियो। तर सदस्यता वितरण तथा अद्यावधिक कार्य अझै जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्म उक्त म्याद थप गरिएको कांग्रेसले जनाएको छ।

पार्टीले सबै सम्बन्धित सदस्य तथा स्थानीय तहका जिम्मेवार पदाधिकारीलाई सदस्यता अद्यावधिक प्रक्रिया समयमै सम्पन्न गर्न आग्रह गरेको छ। आगामी महाधिवेशनको तयारीसँग जोडिएको महत्वपूर्ण कार्यका रूपमा क्रियाशील सदस्यता व्यवस्थापनलाई कांग्रेसले प्राथमिकतामा राखेको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?