काठमाडौं। नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ। यसै वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
दिउँसोको समयमा कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मौसम प्रतिकूल बन्न सक्ने देखिन्छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
मौसमको यो प्रणाली रातिको समयमा पनि सक्रिय रहने महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश लगायत तराई भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।
राति कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रन सक्ने अनुमान गरिएको छ। यसैगरी मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका साथै देशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।