पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि आगामी असोज ७ गतेदेखि नियमित व्यावसायिक उडान सञ्चालन हुने भएको छ। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएसँगै यहाँका पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ।

दुबईस्थित वायुसेवा कम्पनी 'फ्लाई दुबई' ले दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङसमेत खुला गरेपछि पोखराबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको बाटो खुलेको हो।

प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाको केन्द्र पोखरामा यो हवाई पहुँच विस्तार भएसँगै पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। यसअघि यो विमानस्थलबाट चीन र भुटानलगायतका मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए।

यो नियमित उडानको घोषणासँगै सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

उनले यो केवल हवाई सेवा थपिएको विषय मात्र नभएर पर्यटन प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण तथा काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने सुनौलो अवसर भएको बताए। होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले पनि यूएईका राजदूतसँग पोखरा-यूएई सिधा उडान र पर्यटन आदान-प्रदानका विषयमा पहिले भएका छलफल सकारात्मक निष्कर्षमा पुगेको स्मरण गर्दै यसले दुई देशबीचको पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने उल्लेख गरे।

यस्तै पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ र महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष ममता न्यौपानेले दुबई उडानले सुस्ताएको पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा दिँदै अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोड्ने बताएका छन्।

दैनिक उडान सुरु भएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने यात्रुहरू काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने र उनीहरू प्रत्यक्ष लाभान्वित हुने देखिन्छ। फ्लाई दुबईले सञ्चालन गर्ने यस सेवाका लागि यात्रुहरूले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ।

छुटाउनुभयो कि ?