'प्रहरी सीआईडी हौँ' भन्दै सामूहिक बलात्कार गरी फरार अभियुक्त ८ वर्षपछि पक्राउ, पुर्पक्षका लागि कारागार चलान

'प्रहरी सीआईडी हौँ' भन्दै सामूहिक बलात्कार गरी फरार अभियुक्त ८ वर्षपछि पक्राउ, पुर्पक्षका लागि कारागार चलान

चितवन, २८ जेठ नेपाल प्रहरीको विशेष अनुसन्धान टोली (सीआईडी) भन्दै एक महिलालाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी फरार रहेका एक अभियुक्तलाई चितवन प्रहरीले घटनाको आठ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ बस्ने २५ वर्षीय सुमन दोङ भनिने सुमन तामाङ रहेका छन्। फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको विशेष प्रहरी टोलीले खोजी गर्ने क्रममा जेठ २२ गते पक्राउ गर्न सफल भएको हो।

प्रहरीको अभिलेख अनुसार वि.सं. २०७५ साल असार ७ गते राति करिब २ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना पुरुषले ती महिलालाई नियन्त्रणमा लिएका थिए। उनीहरूले आफूहरू इलाका प्रहरी कार्यालय टाँडीको ‘सीआईडी प्रहरी’ भएको र केही जरुरी कुरा बुझ्न तुरुन्त प्रहरी कार्यालय जानुपर्ने भन्दै डरत्रास देखाएका थिए।

अभियुक्तहरूले पीडित महिला र उनका नाबालक छोरालाई समेत मोटरसाइकलमा राखी प्रहरी कार्यालय लैजाने बहानामा नजिकैको जङ्गलतर्फ पुर्‍याएर जबरजस्ती करणी गरेका थिए।

उक्त जघन्य अपराधमा संलग्न अर्का अभियुक्त चितवन कालिका नगरपालिका–३ बस्ने पुटम थिङलाई प्रहरीले घटनाको केही समयपछि नै पक्राउ गरेको थियो। थिङलाई चितवन जिल्ला अदालतले अपहरण तथा जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ। घटनालगत्तै फरार भएका दोस्रो अभियुक्त तामाङ लामो समयदेखि प्रहरीको आँखा छलेर बस्दै आएका थिए।

पक्राउ परेका तामाङलाई कानुनी कारबाहीका लागि चितवन जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशानुसार थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

छुटाउनुभयो कि ?