सभामुखले विभेद गरेको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसदमा वेल घेराउ, संसदमा तनाव

सभामुखले विभेद गरेको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसदमा वेल घेराउ, संसदमा तनाव

काठमाडौं। श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा सभामुखको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामै सांसदहरूलाई बोल्न नदिएको र विभेदपूर्ण व्यवहार गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (राई) लगायत सो पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

बैठकको सुरुमै उठेर विरोध जनाएका अध्यक्ष राई र उनको पार्टीका सांसदहरूले पछि प्लेकार्ड र पर्चा बोकेर वेल घेराउ गर्दै नाराबाजीसमेत गरेका छन् । उनीहरूले सदनभित्र आफूहरूलाई विभेद भएको भन्दै सभामुखको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

सभामुखको स्पष्टीकरण
 

श्रम संस्कृति पार्टीका सांसदहरूको नाराबाजी र अवरोधका बीच सभामुख अर्यालले सदनलाई अगाडि बढाउने प्रयास गरेका थिए । सो क्रममा सभामुख अर्यालले सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मन्तव्य चलिरहेको र विरोध जनाइरहेका सांसदहरूको रोष्टममा गएर बोल्ने तयारी नरहेकाले तत्काल समय दिन नसकेको स्पष्ट पारेका थिए ।

सभामुखले नियम र प्रक्रियाको कुरा उठाउँदै बैठक अगाडि बढाउन खोजे पनि श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ जारी राखेका थिए । प्रतिपक्षको नाराबाजी र विरोधका बाबजुद सभामुखले संसदको कार्यसूचीलाई निरन्तरता दिएपछि सदनमा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।

छुटाउनुभयो कि ?