देशभर बदलीसँगै वर्षाको योग, लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने 'तातो दिन' को सम्भावना

देशभर बदलीसँगै वर्षाको योग, लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने 'तातो दिन' को सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ भने तराईका भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। वर्षाको सम्भावना रहे तापनि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा भने तातो हावा चल्ने र अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको छ।

महाशाखाका अनुसार आज रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। राति मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा मौसम प्रभावित हुने देखिन्छ।

यसका साथै कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भूभाग, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?