वर्षा सुरु भएसँगै बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’, उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह

वर्षा सुरु भएसँगै बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’, उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह

काठमाडाैं। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार एक सूचना जारी गर्दै वर्षाका कारण राजमार्गमा हुन सक्ने सम्भावित क्षति र जोखिमलाई ध्यानमा राखी सवारी साधन रोकिएको जनाएको हो। प्रहरीका अनुसार सडकमार्ग सुरक्षित रहेको र कुनै अवरोध नभएको सुनिश्चित भएपछि अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा ल्याइनेछ।

यात्राको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले यात्रु तथा चालकहरूलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। राजमार्गको पछिल्लो अवस्था र सडक सञ्चालनबारे थप जानकारी लिनुपरेमा नेपाल प्रहरीको आकस्मिक नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न सकिने समेत प्रहरीले जनाएको छ।

गत वर्ष आएको विनाशकारी बाढीले बीपी राजमार्गको रोशी खण्डमा ठुलो क्षति पुऱ्याएको थियो। सो स्थानमा अहिलेसम्म स्थायी सडक निर्माण भइनसकेकाले हाल खोलाको किनार र बगरबाटै डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन गरिँदै आएको छ।

स्थायी संरचना नहुँदा उक्त क्षेत्रमा सानो वर्षा भएर खोलामा सामान्य बाढी आउने बित्तिकै सडक बगाउने र सवारी साधनहरू बीच बाटोमै रोकिने समस्या दोहोरिँदै आएको छ।

छुटाउनुभयो कि ?