परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता, द्विपक्षीय सम्बन्ध थप सुदृढ बन्ने विश्वास

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता, द्विपक्षीय सम्बन्ध थप सुदृढ बन्ने विश्वास

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो तीनदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, आर्थिक र सामाजिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे। उनले दुई देशबीचको अन्योन्याश्रित तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन भ्रमण फलदायी र उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे।

भ्रमणका क्रममा जुन ६, २०२६ मा नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको थियो। उक्त उच्चस्तरीय वार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूमा व्यापक र गम्भीर समीक्षा गरिएको मन्त्री खनालले जानकारी दिए।

विशेषगरी दुई देशबीचको व्यापार तथा आर्थिक सहकार्य, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद तथा जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयमा ठोस र सकारात्मक छलफल भएको उनले बताए। वार्ताका क्रममा आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान हुनुका साथै आगामी दिनमा कूटनीतिक सहकार्यलाई अझ मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त भएको छ।

भ्रमणकै क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि छुट्टै भेटवार्ता गरेका थिए। उक्त बैठकमा नेपाल र भारतबीचको साझा सुरक्षा चासो, सीमा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने उपायहरू तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा केन्द्रित रहेर छलफल भएको थियो।

सञ्चारकर्मीहरूले उठाएको सीमा विवाद र कालापानी–लिपुलेक क्षेत्रको विषयमा बोल्दै परराष्ट्रमन्त्री खनालले सीमासम्बन्धी समस्या समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्रहरूले निरन्तर काम गरिरहेको प्रष्ट पारे। कालापानी–लिपुलेक हुँदै मानसरोवर यात्राको मार्ग भारत र चीनबीचको सहमतिमा खोलिएको विषय सार्वजनिक भएपछि नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमा कूटनीतिक नोट (डिप्लोम्याटिक नोट) पठाइसकेको उनले खुलासा गरे।

उक्त नोटमार्फत नेपालले आफ्नो स्पष्ट, ऐतिहासिक र कूटनीतिक अडान राखिसकेको बताउँदै उनले सीमा सम्बन्धी सम्पूर्ण विषयहरूलाई स्थापित द्विपक्षीय संयन्त्र र वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको पुरानो अडानमा भारतीय पक्षसँग पनि कूटनीतिक ढंगले समाधान खोज्ने विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिए। परराष्ट्रमन्त्री खनाल गत शुक्रबार भारत भ्रमणमा प्रस्थान गरेका थिए।

छुटाउनुभयो कि ?