हेमन्त कान्छा र पविता पुनको अभिनयमा सजिएको शिरफुले भाका 'रेलीमै' रिलिज

हेमन्त कान्छा र पविता पुनको अभिनयमा सजिएको शिरफुले भाका 'रेलीमै' रिलिज

काठमाडौँ। नेपाली सङ्गीत आकाशका बहुचर्चित सारङ्गीवादक तथा गायक हेमन्त कान्छा रसाईलीको नयाँ गीत 'रेलीमै' को म्युजिक भिडिओ सार्वजनिक भएको छ।

सङ्गीतका विभिन्न विधामा सक्रिय रहँदै आएका रसाईलीले यसपटक गायन र वादनसँगै निर्देशनको भूमिकामा समेत आफूलाई उभ्याएका छन्। मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको यो भिडिओ शनिबार बिहान गायक रसाईलीकै आधिकारिक युट्युब च्यानलमार्फत दर्शकसामु ल्याइएको हो।

मगर समुदायको प्रचलित एवं मौलिक 'शिरफुले भाका' मा आधारित यस गीतका प्रस्तुतकर्ता म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट निवासी तुलप्रसाद पुन (नयन बाबु) हुन्, जो हाल अमरज्योति माध्यमिक विद्यालयमा अध्यापनरत छन्।

गीतको शब्द रचना र लय सिर्जना निर्माता पुन र गायक रसाईली दुवैले मिलेर तयार पारेका हुन्। मौलिकताले भरिएको यस गीतमा हेमन्त कान्छा रसाईलीलाई गायनमा कृष्ण परियार, गीता पाईजा, सुमन थापा र अमृता लामिछानेले स्वरमा साथ दिएका छन्।

प्राकृतिक र सांस्कृतिक सुन्दरतालाई दुरुस्तै उतार्नका लागि यस म्युजिक भिडिओको छायाँकन मालिका गाउँपालिकाको पर्यटकीय स्थल सोले डाँडा तथा ओखरबोट लगायतका रमणीय स्थानहरूमा गरिएको छ।

भिडिओमा स्वयम् गायक हेमन्त कान्छा र निर्माता तुलप्रसाद पुनको अभिनय देख्न सकिन्छ भने उनीहरूलाई कलाकारहरू पविता पुन, नवीन मगर, सुष्मा बुढाथोकी र करुणा बुढा लगायतले स्क्रिनमा उत्कृष्ट अभिनयका साथ साथ दिएका छन्। सारङ्गीवादन र गायनमा स्थापित भइसकेका हेमन्त कान्छाले यस भिडिओमार्फत निर्देशनमा पनि आफ्नो बलियो पकड देखाएका छन्।

छुटाउनुभयो कि ?