सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ, जसबाट अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
अधिवेशनमा सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अपनाइएको थियो, जसमा कुल २ सय ७४ प्रतिनिधिहरूले मतदान गरेका थिए। शनिबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार सभापति पदमा बस्नेतले १ सय ८१ मत प्राप्त गर्दै जित हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत र कर्णबहादुर कार्कीले ४ मत मात्र पाए। पार्टीको विधान अनुसार सभापतिमा पराजित भए पनि धेरै मत ल्याएका बम्जन स्वतः जिल्ला समिति सदस्य बनेका छन्।
निर्वाचनबाट उपसभापति पदमा १ सय ३ मत ल्याएर रामचन्द्र अधिकारी विजयी भएका छन्, जहाँ उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ र दिलीपजंग थापाले ६६ मत पाए। यसैगरी सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १ सय ८६ मतका साथ निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास) ले ७१ मत मात्र प्राप्त गरे। सहसचिव पदमा १ सय ३० मतका साथ दिनेशप्रसाद सापकोटा (मोटु) विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी रमेश खत्रीले १ सय १६ मत ल्याए।
कार्यसमितिको खुला सदस्यमा दिवस पहाडी र दलित सदस्यमा कुमार रसाइली निर्वाचनमार्फत चुनिएका छन् भने महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भए। जिल्ला समितिका बाँकी दुई सदस्यहरू भने समितिको पहिलो बैठकबाट मनोनयन गरिने रास्वपा सिन्धुलीले जनाएको छ। यसै अधिवेशनबाट क्षेत्र नं. १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं. २ को संयोजकमा कैलाश थापा निर्वाचित हुँदै पार्टीको सांगठनिक जिम्मेवारी सम्हालेका छन्।