काठमाडौं। सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्या गरेपछि दोषीलाई कडा कारबाहीको माग गर्दै आफन्त र शुभेच्छुकहरूले प्रहरी वृत्त बालाजु अगाडि प्रदर्शन गरेका छन्।
शनिबार दिउँसो भेला भएका मृतकका परिवारका सदस्य तथा सर्वसाधारणले कानुनी कारबाहीको माग गर्दै नाराबाजी समेत गरेका हुन्। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटी र पूर्वगृहमन्त्री सुधन गुरुङ समेत बालाजु वृत्त पुगेर घटनाको निष्पक्ष छानबिन र दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
पूर्वगृहमन्त्री गुरुङले मृतक ईश्वरीकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिँदै सेनामा कार्यरत भुजेलको हत्यामा संलग्नमाथि कडा कानुनी प्रहार हुनुपर्नेमा जोड दिए।
घटना विवरण:
शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा स्कुटीमा सवार ४२ वर्षीया ईश्वरीमाथि कुमारले फलामको रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा उपचारका क्रममा निधन भएको हो।
प्रहरीका अनुसार आफूलाई रेस्लर र फाइटरका रूपमा समेत चिनाउने ४२ वर्षीय कुमार र ईश्वरीबीच पछिल्लो समय सम्बन्ध विच्छेदको तयारी चलिरहेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।