गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक जना पक्राउ

गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक जना पक्राउ

प्युठान। आफ्नै खेतबारीमा जोत्ने क्रममा गोरुमाथि अमानवीय र निर्दयी व्यवहार गरी सोको भिडियो सामाजिक सञ्जालमा राख्ने एक व्यक्तिलाई प्युठान प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय खलङ्गा प्युठानले जेठ २१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे जानकारी दिएको हो।

पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका वडा नं. १ बस्ने ३६ वर्षीय जालिसराम थापा मगर रहेका छन्। विगत ४/५ दिन अगाडि उनले आफ्नै खेतबारीमा गोरु लिएर जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछि उक्त गोरुको नाक र मुख माटोमा गाडिदिएका थिए। त्यसपछि उनले गोरुलाई कुटपिट तथा हिर्काई निर्दयी व्यवहार गरेका थिए। सोही अमानवीय कार्यको भिडियो बनाई उनले फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि पशुमाथि क्रूर व्यवहार गरेको भन्दै उनको चौतर्फी विरोध भएको थियो। सोही भिडियोको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानले एक्सन लिँदै थापा मगरलाई नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम 'पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने' कसुरमा मुद्दा दर्ता गरिएको छ। घटनाको थप अनुसन्धानका लागि तालुक जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच (५) दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?