'बाध्य भएर आफ्नै घर छाड्नुपर्‍याे': १८३ नेतासहित राप्रपाबाट राजीनामा दिएपछि डा. धवलशम्शेरको आक्रोश

'बाध्य भएर आफ्नै घर छाड्नुपर्‍याे': १८३ नेतासहित राप्रपाबाट राजीनामा दिएपछि डा. धवलशम्शेरको आक्रोश

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन्।

राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा. राणाले आफूहरू रहरले नभई बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको स्पष्ट पारे। उनले यसलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई वर्तमान पार्टीभित्र बसेर पार लगाउन नसकिने निष्कर्षमा पुगेपछि हिम्मतका साथ यो कदम चालेको बताए। आफ्नै घर छाड्नुपर्ने अवस्था आउनु पीडादायी भए पनि अब नयाँ घर निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।

विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै डा. राणाले राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन आफूले भगिरथ प्रयास गरेको दाबी गरे।

आफूले पार्टीको आन्दोलनको नेतृत्व गरेको, संगठन सुधार गर्न खोजेको तथा राप्रपालाई राष्ट्रकै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न चाहे पनि ती सबै प्रयासहरूलाई योजनाबद्ध रूपमा अगाडि बढ्न नदिइएको भन्दै उनले असन्तुष्टि पोखे। पार्टी नेतृत्वप्रति प्रत्यक्ष रूपमा कडा आरोप नलगाए पनि आफूले छाडेको ‘घर’ र त्यहाँ रहेका पुराना साथीहरूका विषयमा अब थप गुनासो नगर्ने उनले स्पष्ट पारे।

यसैगरी उनले देशमा बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि राप्रपाका आम कार्यकर्ता, राष्ट्रियताको पक्षधर, हिन्दू अधिराज्यको चाहना राख्ने र मुलुकबाट भ्रष्टाचार हटाउन खोज्ने सम्पूर्ण शक्तिहरूलाई एकजुट हुन आह्वानसमेत गरे।

छुटाउनुभयो कि ?