काठमाडौं। सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयमा रहेको सवारी (एमटी) शाखामा भएको आगलागी घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ। मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन डीआईजी थापाको नेतृत्वमा टोली बनाएर कामसमेत सुरु भइसकेको छ। प्रवक्ता भट्टले घटनाबारे सुक्ष्म छानबिन गर्न समिति गठन गरिएको र यसले काम थालिसकेको जानकारी दिए।
समितिलाई निश्चित समयसीमा नतोकिए पनि परिस्थितिको गम्भीरतालाई हेरेर सकेसम्म चाँडो छानबिन सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
बुधबार राति करिब ८ बजेको समयमा सशस्त्र हेडक्वाटरको सवारी शाखामा अचानक आगलागी भएको थियो। आगलागीबाट त्यहाँ रहेका केही सवारी साधनहरूमा क्षति पुगेको बताइएको छ। घटना लगतै बंगलामुखी गणबाट खटिएको विशेष टोलीले आगोलाई थप फैलिन नदिई नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरी बलका कार्यालयहरूमा आगलागी भएको यो पहिलो घटना भने होइन। यसअघि पनि सशस्त्रको हेडक्वाटरमै आगलागी भइसकेको छ भने केही समयअघि सतुंगलस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा समेत भीषण आगलागी भएको थियो। प्रधान कार्यालयभित्रै पटक–पटक हुने यस्ता आगलागीका घटनाले सुरक्षा र व्यवस्थापकीय चुस्ततामाथि फेरि प्रश्न उठाएको छ।