काठमाडौं । गत भदौमा भएको 'जेनजी' आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासको भित्ताबाट चोरी भएको बहुमूल्य हात्तीको दाह्रासहित प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई चोरी भएको ९ महिनापछि बरामद दाह्रा र लागुऔषधसहित सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखा लाप्राकका २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीका २४ वर्षीय पुरन बोहरा र गोरखा अजिरकोटका २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।
आन्दोलनको मौका छोपेर चोरी, जमिनमुनि गाडिएको अवस्थामा फेला
कार्यालयका एसपी तथा प्रवक्ता शरद थापाका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री वितरण हुन लागेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा आन्दोलनका बेला शीतल निवासबाट चोरी गरिएको हात्तीको दाह्रालाई आरोपीहरूले टुक्रा-टुक्रा पारेर भाग लगाएको खुलेको छ। आरोपी राजिव, आयुष र टेकप्रसादले दाह्राका दुई टुक्रा राजिवको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो। राजिवको घरबाट प्रहरीले थप १५० ट्याब्लेट लागुऔषध 'ट्रामडोल' समेत बरामद गरेको छ।
"शीतल निवासबाट चोरी गरेपछि उनीहरूले दाह्रालाई टुक्रा पारेर बाँडेका थिए। केही भाग जमिनमुनि गाडिएको र केही कोठामा लुकाइएको अवस्थामा बरामद भएको छ।" — प्रहरी उपरीक्षक (एसपी) शरद थापा
झ्यालमा लुकाइएको थियो बाँकी टुक्रा
पक्राउ परेका तीन जनासँगको सोधपुछका आधारमा प्रहरीले टोखा बस्ने पुरन बोहरालाई नियन्त्रणमा लिएको थियो। पुरनको बयानका आधारमा प्रहरी अर्का आरोपी सन्तबहादुर भुजेलको कोठामा पुगेको थियो, जहाँ बाँकी दुई टुक्रा हात्तीको दाह्रा झ्यालमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।
'जेनजी' आन्दोलनका बेला भएको थियो शीतल निवास तोडफोड
गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा नेपाली सेनाको कडा सुरक्षा घेराभित्र रहने राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। सो क्रममा राष्ट्रपतिको कुर्सीदेखि भित्तामा सजाइएका ऐतिहासिक तस्बिरहरू जलाउने र भत्काउने काम भएको थियो। सोही अस्तव्यस्तताको मौका छोपेर भित्तामा सजाइराखिएको दुई थान हात्तीको दाह्रा चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनामाथि लागुऔषधसम्बन्धी कसुर र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान अघि बढाइएको छ।