काठमाडौँ । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ। सो द्विपक्षीय भेटघाटमा नेपाल र भारतबीचको आपसी हित तथा साझा चासोका विविध विषयहरूमा गहन छलफल भएको छ।
भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत पूर्ण रूपमा तयार रहेको बताएका छन्। सभापति लामिछानेसँगको भेटले आफूलाई अत्यन्त खुसी तुल्याएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भने, ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु।’
भाजपा मुख्यालयमा भव्य स्वागत र उच्चस्तरीय राजनीतिक भेटघाट
यसअघि सोमबार भारत प्रस्थान गरेका रास्वपा सभापति लामिछानेलाई भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको थियो। भाजपाका नेता नितिन नवीनले लामिछाने र उनको टोलीलाई कार्यालयमा स्वागत गरेका थिए। भ्रमणकै क्रममा मंगलबार सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशङ्कर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै राजनीतिक भेटघाट गरी दुई देशको हितका विषयमा संवाद गरेका थिए।
सभापति लामिछाने नेतृत्वको रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल भाजपाको विशेष निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि गत जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गरेको हो। यस भ्रमण दलमा सभापति लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका छन्।