भारतमा कोरोना भाइरसको कारण १० को मृत्यु ५१२ जना सङ्क्रमित

भारतमा कोरोना भाइरसको कारण १० को मृत्यु  ५१२ जना सङ्क्रमित

एजेन्सी: विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा १० व्यक्तिको मृत्यु भइसकेको छ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबारसम्म ५१२ जना सङ्क्रमित भएको जानकारी दिएक छन् । सङ्क्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका छन्।

यसैबीच भारतीय प्रधानमन्त्रीले एक अर्ब ३० करोड जनतालाई ‘लकडाउन’ मा बस्न आग्रह गर्नुभएको छ । उहाँले मङ्गलबार साँझ लकडाउन घोषणा गर्नु भएको हो । आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन मोदीले सबै भारतीय नागरिकलाई आह्वान गर्नुभएको छ ।

यस प्रकारको सुरक्षा नअपनाएमा देश दशकौँ पछाडि धकेलिने प्रधानमन्त्री नरेन्द्र मोदील बताउनु भएको छ ।

मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत गर्नुभएको सम्बोधनलगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न सर्वसाधारणको भिड लागेको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको सो सम्बोधनमा बताउनु भएको थियो ।

गएको मध्यरातबाट लागु भएको यो बन्देज आगामी २१ दिनसम्म जारी रहने मोदीले बताउनु भएको छ ।

“तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ” प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भन्नुभएको थियो ।