काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस समिति गठन

काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस समिति गठन

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।

विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति चयनका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मंगलबार सम्पन्न सिनेट बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

गठित समितिको संयोजकत्व स्वयं सहकुलपति एवं मन्त्री पोखरेलले गर्नेछन्।

यस्तै, समितिको सदस्यहरूमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा रहेका छन्।

यो समितिले विश्वविद्यालयको नेतृत्वका लागि योग्य प्राज्ञिक व्यक्तित्वहरूको पहिचान, छनोट र सिफारिस गर्ने जिम्मेवारी पाएको छ।

शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा अग्रणी मानिएको काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिको यो प्रक्रियालाई निकै चासोका साथ हेरिएको छ। सिफारिस समिति गठन भएसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासलाई नयाँ उचाइमा पुर्‍याउने सक्षम नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?