सुस्तामा निर्माणाधीन तटबन्धको काममा भारतीय एसएसबीको अवरोध

सुस्तामा निर्माणाधीन तटबन्धको काममा भारतीय एसएसबीको अवरोध

नवलपरासी। पश्चिम नवलपरासीको सुस्तामा नदी कटान र डुबान नियन्त्रणका लागि निर्माण भइरहेको तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध पुर्‍याएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ करोड रुपैयाँ लगानीमा सुस्ता-५ स्थित नारायणी नदी क्षेत्रमा भइरहेको तटबन्धको काम रोक्न हिजो अपराह्न नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले निर्देशन दिएको हो। स्थानीयका अनुसार हतियारसहित आएका करिब एक दर्जन भारतीय सुरक्षाकर्मीले काम रोक्न दबाब दिएर फर्किएका थिए।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले सुस्तामा पहिलेदेखि बनिरहेको तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ (नेपाली भूभागमै) नयाँ ठेक्काअन्तर्गत बाँधको काम अघि बढाउन खोज्दा भारतीय पक्षले अवरोध सिर्जना गरेको पुष्टि गरेका छन्।

उक्त विवादित भनिएको स्थलमा तटबन्ध निर्माण गर्ने विषयमा भारतीय पक्षले चासो र आपत्ति व्यक्त गरेपछि वस्तुस्थिति बुझ्न सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गोविन्द खातीलाई तत्काल घटनास्थल पठाइएको उनले जानकारी दिए।

यसै विषयमा आजै भारतीय समकक्षी (डिएम) सँग भेटघाट र छलफलको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए। यता सशस्त्र प्रहरी उपरीक्षक खातीले भने दुवै देशका सुरक्षाकर्मीहरू संयुक्त सीमा अनुगमनका क्रममा त्यहाँ पुगेको दाबी गरेका छन्।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले प्राकृतिक प्रकोप नियन्त्रण र मानव बस्ती जोगाउने उद्देश्यले भइरहेको विकास निर्माणको कामलाई भारतीय पक्षले नियतवश रोक्ने प्रयास गरेको आरोप लगाएका छन्। भारतीय सुरक्षाकर्मीको यस कदमबारे आजै जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई आधिकारिक रूपमा जानकारी गराउने तयारी भइरहेको उनले स्पष्ट पारे।

गृह मन्त्रालयका अनुसार सुस्ता–५ स्थित नारायणीको झोलुङ्गे पुलसँगै जोडिएको क्षेत्रमा सिँचाइ विभागको परियोजनाअन्तर्गत करिब एक किलोमिटर र त्यससँगै थप १३२ मिटर लम्बाइको तटबन्ध निर्माण भइरहेको हो। नारायणी नदीको धार परिवर्तन र निरन्तरको कटानका कारण सुस्ताको ऐतिहासिक क्षेत्रफल तीव्र रूपमा घट्दै गइरहेको छ। वि.सं. २०३० अघि ७५ हजार हेक्टरभन्दा बढी क्षेत्रफल रहेको सुस्तामा भारतीय अतिक्रमण र नदी कटानका कारण अहिले सङ्कुचित भएर जम्मा ७ हजार हेक्टर भूमि मात्र बाँकी रहेकाले यस तटबन्धलाई सुस्ताबासीको रक्षाका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

छुटाउनुभयो कि ?