प्रधानमन्त्री बालेन शाहको ‘भारतको भूमि मिचेको’ अभिव्यक्तिप्रति प्रतिपक्षी आक्रोशित, आज संसद्मा प्रतिवाद गर्ने तयारी

प्रधानमन्त्री बालेन शाहको ‘भारतको भूमि मिचेको’ अभिव्यक्तिप्रति प्रतिपक्षी आक्रोशित, आज संसद्मा प्रतिवाद गर्ने तयारी

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा दिएको विवादित अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरूले संसद् बैठकमा कडा प्रतिवाद गर्ने भएका छन्।

आइतबारको संसद् बैठकमा अचानक उपस्थित भई सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा यसको व्यापक विरोध भइरहेको छ।

हिजोको बैठकमा केही प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति राष्ट्रिय सार्वभौमिकता विरुद्ध रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। तर, सभामुख डीपी अर्यालले उक्त मागप्रति कुनै सुनुवाइ गरेनन्।

हिजो दिनभरको संसद् बैठक सभामुख अर्यालले संसद् नियमावली जबर्जस्ती पारित गर्न खोजेपछि झन् बढी तनावपूर्ण बनेको थियो। हिजो नियमावलीको विषयमा अल्झिएको संसद्मा आज भने प्रतिपक्षी दलहरूले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्रीको अभिव्यक्तिमाथि नै केन्द्रित गर्ने रणनीति बनाएका छन्।

आजको संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक सुरु हुनुअघि प्रतिपक्षी दलका प्रमुख नेताहरूबीच रणनीति तय गर्न अनौपचारिक छलफल हुने नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको विरोध र सभामुखको कार्यशैलीलाई लिएर प्रतिपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत हुने सङ्केत देखिएकाले आजको बैठक पनि निकै रोचक र तनावपूर्ण हुने अनुमान गरिएको छ।

छुटाउनुभयो कि ?