काठमाडौं। प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियाका क्रममा संसद् बैठक कक्षको वेलमै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएको छ। प्रतिनिधिसभा नियमावलीमाथिको दफावार छलफल सकिएपछि सभाले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने अन्तिम तयारी गरिरहेको थियो।
सोही समयमा विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय विषयगत समितिमा लगेर पुनः दफावार छलफल गरिनुपर्ने माग राख्दै विरोध सुरु गरे। विशेष गरी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद्मा परेका संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस् भन्दै औपचारिक माग राखेकी थिइन्।
तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची पहिले नै तय भइसकेको र सोही कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढाइएको प्रष्ट पार्दै सदनको कारबाहीलाई निरन्तरता दिए।
प्रतिनिधिसभा नियमावलीको मस्यौदामा कुल ३५ वटा संशोधनहरू दर्ता भएका छन्। सभामुखले ती संशोधनहरूलाई एक-एक गरी निर्णयार्थ प्रस्तुत गर्न थालेलगत्तै असन्तुष्ट विपक्षी दलका सांसदहरू रोष्ट्रम घेराउ गर्दै वेलमा पुगेर नाराबाजीमा उत्रिएका थिए।
उनीहरूले सभामुखको भूमिका र तटस्थतामाथि समेत गम्भीर प्रश्न उठाए। विपक्षीको नाराबाजी र अवरोध लगत्तै सत्तापक्षका सांसदहरू पनि प्रतिवादका लागि वेलमै पुगेपछि स्थिति थप तनावपूर्ण बन्न पुग्यो। त्यस क्रममा संसद्को वेलभित्रै सत्तापक्ष र विपक्षी सांसदहरूले एकअर्कालाई औँला ठड्याउँदै चर्को रूपमा चेतावनी दिएका थिए।
तनाव बढ्दै जाँदा विपक्षी दलकी एक जना महिला सांसद रोष्ट्रमको भित्री भागसम्मै पुग्न खोजे पनि त्यहाँ तैनाथ मर्यादापालकहरूले उनलाई तत्कालै रोकेका थिए। वेलभित्र सत्तापक्ष र विपक्षी सांसदहरूलाई भौतिक रूपमा आमनेसामने हुन नदिन मर्यादापालकहरूले बीचमा बसेर छेक्ने प्रयास गरिरहेका थिए।
तैपनि सांसदहरूले एकअर्कालाई ठेलाठेल गर्दै सभामुखको कदमको समर्थन र विरोधमा चर्को हुटिङ गरिरहे। यसैबिच सभामुखले पटक-पटक संसद्को मर्यादा कायम राख्न र आफ्ना स्थानमा बस्न सांसदहरूलाई आग्रह गरे।
सभामुखको आग्रहलाई बेवास्ता गर्दै वेलभित्र घम्साघम्सी जारी रहेपछि अन्तिममा सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठक स्थगित भए पनि सत्तारुढ दलले भने प्रतिनिधिसभा नियमावलीलाई आजै परिमार्जनसहित पास गर्ने आन्तरिक तयारी तीव्र पारेको छ।