काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरणको आरोप लागेकी टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई नेपाल ल्याएपछि हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो। अनुसन्धानका क्रममा उनी विदेश फरार भएको खुलेपछि नेपाल प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी गरेको थियो ।
प्रहरीका अनुसार अधिकारीविरुद्ध गत साउनमै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो । उजुरीपछि सुरु गरिएको अनुसन्धानका क्रममा उनको बैंक खातामा ठूलो रकमको कारोबार भएको देखिएपछि सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान अघि बढाइएको थियो ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियातर्फबाट तुल्सा अधिकारीविरुद्ध उजुरीपछि उनी सम्पर्कविहीन भई फरार रहेकी थिइन् । प्रहरीले उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।