काठमाडौं। आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसका बीच नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ घोषणा गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गम्भीर पराजय ब्यहोरेर शिथिल बनेको एमालेले यस अभियानमार्फत पार्टीलाई पुनः जुर्मुराउन खोजेको हो। गत जेठ ४ गतेदेखि सुरु भएर ८, ९ र १० गतेसम्म चलेको केन्द्रीय सचिवालय बैठकका निर्णयहरूलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि)-२ जारी गर्दै यो अभियानको शङ्खघोष गरेका छन्।
आसन्न स्थानीय तह र प्रदेशसभा चुनावलाई ध्यानमा राखेर घोषणा गरिएको यस अभियानलाई सफल पार्न एमालेले केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी सुम्पेको छ। केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभाग प्रमुखको जिम्मेवारी दिइएको भए पनि उनीहरूले अनिवार्य रूपमा आफ्नो पालिकाको भूगोलमै केन्द्रित भएर काम गर्नुपर्नेछ।
केन्द्रीय सदस्यहरू मात्र अभियानका लागि अपर्याप्त हुने देखिएकाले केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्ताहरूलाई समेत पालिका केन्द्रित जिम्मेवारीमा खटाइएको छ।
अध्यक्ष ओलीले वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन एकैसाथ गराउने तयारीमा जुटेको सूचनासमेत अपानिमार्फत कार्यकर्तामाझ पुर्याएका छन्।
एमालेले गरेको नयाँ कार्य-विभाजनअनुसार अध्यक्षले समग्र कामको नेतृत्व गर्नेछन् भने महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभिन्न विभाग तथा फाँटहरूको संयोजन गर्ने भूमिका दिइएको छ।
पार्टीका नौ जना सचिवमध्ये ६ जनालाई प्रदेश इन्चार्जको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिँदै छविलाल विश्वकर्मालाई लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी, यामलाल कँडेललाई कर्णाली, शेरधन राईलाई कोसी, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ।
कोसीका मुख्यमन्त्रीसमेत रहनुभएका सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
यसैगरी प्रदीप ज्ञवालीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ भने प्रचार तथा प्रकाशन विभाग प्रमुखमा नीरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई चयन गरिएको छ। यसअघि केन्द्रीय सदस्य मीनबहादुर शाही प्रचार विभाग प्रमुखको भूमिकामा थिए।
अध्यक्ष ओलीले अपानि–२ मार्फत लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेका पुराना राजनीतिक दल र नेतृत्वलाई नयाँ र पुरानाको नाममा विस्थापित गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
गत २३ र २४ भदौको घटनापछि प्रतिगमनतर्फ उन्मुख मुलुकलाई सही लयमा फर्काउन एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अगाडि बढाएको भए पनि अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारण बाध्य भएर निर्वाचनमा जानुपरेको स्पष्टीकरण ओलीले दिएका छन्।
यो निर्वाचन अघिपछिको जस्तो सामान्य नरहेको र यसको परिणाम पनि स्वाभाविक नआएको उनको ठहर छ। निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सामा उत्पन्न भएको निराशा र पलायनको बाटो छोडेर पार्टी काममा सक्रिय हुन उनले सम्पूर्ण नेता-कार्यकर्तालाई हार्दिक अनुरोध गरेका छन्।
केन्द्रीय कमिटीको आगामी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको ठोस कार्ययोजना अघि बढाइने आश्वासन दिँदै उनले इतिहासका गम्भीर चुनौतीहरूलाई चिर्दै पार्टी सधैँ राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित भएको विगत स्मरण गराएका छन्।
नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढेको निष्कर्षसमेत निकालेको छ। वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा स्वतन्त्र सञ्चार माध्यममाथि गम्भीर दबाब सिर्जना गरेको एमालेको आरोप छ।
सरकार गठन भएदेखि नै संसद् कमजोर पार्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, सञ्चार माध्यमलाई नियन्त्रणमा राख्ने र सुकुम्बासीमाथि अमानवीय व्यवहार गर्ने काम भइरहेको भन्दै एमाले यस्ता गतिविधिविरुद्ध सदन र सडक दुवै ठाउँबाट सशक्त विरोध अभियान सञ्चालन गर्ने निर्णयमा पुगेको छ।
उपमहासचिव योगेश भट्टराईले सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी-२ अनिवार्य रूपमा अध्ययन गर्न विशेष अनुरोध गरेका छन्। यस अपानीले पार्टीभित्र उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिएको र नयाँ कार्यविभाजनले पार्टीमा व्यापक एकता निर्माण गर्ने अपेक्षा गरिएको उनले बताए।
पार्टी सुदृढीकरणका लागि जारी गरिएको यस अपानीमा एउटा रोचक त्रुटिसमेत फेला परेको छ, जहाँ केही दिन अगाडि मात्रै एमाले परित्याग गरिसकेका नेता उमाशंकर अरगरियालाई पनि कार्यविभाजनमा समेटिएको छ।
नेपाली वर्णानुक्रमअनुसार अपानीको ४२ नम्बरमा नाम रहेका अरगरियालाई धनुषामा मिसन पार्टी जागरण अभियान चलाउने जिम्मेवारी सुम्पिएको छ। २०७९ सालको चुनावमा धनुषा-२ को टिकट दिएर एमाले अध्यक्ष ओली आफैँले अरगरियालाई पार्टी प्रवेश गराएका थिए र उनी गत २१ फागुनको चुनावमा पनि एमालेबाटै उम्मेदवार बनेका थिए।
तर उक्त चुनावमा समेत पराजित भएपछि अरगरियाले साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको जानकारी केही दिनअघि मात्र फेसबुकमार्फत सार्वजनिक गरेका थिए। निर्वाचनपछि सुस्ताएका कमिटी र पार्टी गतिविधिलाई यस नयाँ जागरण अभियान र कार्यविभाजनले पुनः तीव्र गति दिने एमालेले दृढ विश्वास लिएको छ।