नेतृत्वको स्वेच्छाचारिता र एजेन्डा विचलनको आरोप: राप्रपा महामन्त्री धवलशमशेर राणा समूहद्वारा सामूहिक राजीनामाको तयारी

नेतृत्वको स्वेच्छाचारिता र एजेन्डा विचलनको आरोप: राप्रपा महामन्त्री धवलशमशेर राणा समूहद्वारा सामूहिक राजीनामाको तयारी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै पार्टी विभाजनको संघारमा आइपुगेको छ। पार्टीका महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको संस्थापन इतर समूहले राप्रपाबाट सामूहिक राजीनामा दिने अन्तिम तयारी गरेको विशेष स्रोतले जनाएको छ।

लामो समयदेखि चल्दै आएको आन्तरिक अन्तरसंघर्षकै निरन्तरतास्वरूप यो समूहले आगामी जेठ १८ गते काठमाडौंको होटल यलो प्यागोडामा एक पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सामूहिक राजीनामा घोषणा गर्ने तयारी गरिरहेको छ।

नेतृत्वमाथि गम्भीर आरोप र एजेन्डा विचलन
 

राजीनामाका लागि तयार पारिएको मस्यौदामा राणा समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनमाथि चरम स्वेच्छाचारिता प्रदर्शन गरेको र पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको गम्भीर आरोप लगाएको छ। पार्टी स्थापनाको मूल उद्देश्य, सिद्धान्त र मान्यताबाट वर्तमान नेतृत्व पूर्ण रूपमा विचलित भएको निष्कर्ष उक्त समूहको छ।

तयारी मस्यौदामा उल्लेख गरिएअनुसार, जुन जग र मान्यताका साथ राप्रपा स्थापना भएको थियो, ती सबैलाई समाप्त पार्ने मनोवृत्ति मूल नेतृत्वमा देखिएको छ। राजसंस्था पुनर्स्थापनाका लागि चालिनुपर्ने आन्दोलनका कदमहरूलाई नेतृत्वकै कारण कमजोर बनाइएको कार्यकर्ताहरूको अनुभूति छ। संसदमा समेत सैद्धान्तिक रूपमा राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता गराउन नसक्नु नेतृत्वको ठूलो कमजोरी भएको मस्यौदामा औंल्याइएको छ।

विवादको पृष्ठभूमि र राजनीतिक यात्रा
 

राप्रपाभित्र संस्थापन पक्ष र डा. राणाले नेतृत्व गरेको संस्थापन इतर पक्षबीच लामो समयदेखि वैचारिक तथा राजनीतिक मतभेद कायम थियो। एकता महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि वर्तमान नेतृत्वका कारण ती आशाहरू क्रमशः निराशामा परिणत हुँदै गएको सो समूहको ठहर छ।

त्यसैगरी, पार्टीको वैचारिक आधार र मूल एजेन्डालाई बेवास्ता गर्दै नेतृत्वले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुधार’ सम्बन्धी कार्यक्रमलाई समर्थन गरेको विषयलाई पनि राणा समूहले असन्तुष्टिको मुख्य बुँदा बनाएको छ।

सामूहिक राजीनामाको घोषणासँगै जेठ १८ गतेको पत्रकार सम्मेलनमार्फत राणा समूहले आफ्नो आगामी राजनीतिक यात्रा र नयाँ रणनीतिक कदमबारे समेत स्पष्ट धारणा सार्वजनिक गर्ने बुझिएको छ।

छुटाउनुभयो कि ?