काठमाडौं। नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ।
मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारत जस्ता रणनीतिक साझेदारसहित विभिन्न १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन माग गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र परराष्ट्र मन्त्रालयमा आफ्नो दरखास्त बुझाउन सक्नेछन्।
यो व्यवस्थाअन्तर्गत राजदूत पदमा नियुक्त हुनका लागि मन्त्रालयले १५ वटा विभिन्न न्यूनतम योग्यता र सर्तहरू निर्धारण गरेको छ। आवेदन दिन चाहने व्यक्ति कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने र नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था कार्यविधिमा छ।
नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा विशेष अनुभव हासिल गरेका तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कुशल प्रतिनिधित्व गर्न सक्ने क्षमतावान् व्यक्तिलाई छनोटमा प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।
कार्यविधिले कडा कूटनीतिक र कानुनी मापदण्डहरू पनि तय गरेको छ, जसअनुसार सरकारी सेवाबाट बर्खास्त भएका, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका वा कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमति (पीआर/ग्रीनकार्ड) वा अध्यागमन सुविधा लिएका व्यक्तिहरू यस पदका लागि सर्वथा अयोग्य हुनेछन्।
यसैगरी, भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भएका, नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा परेका र प्रस्तावित पदस्थापनास्थलसँग कुनै पनि प्रकारको स्वार्थ बाझिने अवस्था भएका व्यक्तिहरूले पनि आवेदन दिन पाउने छैनन्।
अन्तर्राष्ट्रिय वा विदेशी सहयोगप्राप्त गैरसरकारी संस्थामा हाल कार्यरत रहेका व्यक्तिहरूलाई समेत यस प्रक्रियामा बन्देज लगाइएको छ।
कुनै विदेशी राज्यबाट पारिश्रमिक पाउने पदमा काम गरिसकेको व्यक्तिको हकमा त्यस्तो जिम्मेवारी त्यागेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने कडा प्रावधान राखिएको छ।
उत्कृष्ट कूटनीतिक सुझबुझ र उच्च नैतिक चरित्र आवश्यक पर्ने यस पदका लागि आवेदकलाई कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासबारे पर्याप्त ज्ञान हुनुपर्नेछ।
साथै, अंग्रेजी भाषामा उत्कृष्ट दखल हुनुका साथै प्रस्तावित देश वा संस्थासँग जोडिएका विषयको राम्रो ज्ञान भएको र सम्बन्धित देशको आधिकारिक भाषासमेत बुझ्न सक्ने व्यक्तिलाई थप योग्य मानिने कार्यविधिमा उल्लेख छ।