कांग्रेस नीति प्रतिष्ठानद्वारा सात विषयगत उपसमिति र संयोजक चयन

कांग्रेस नीति प्रतिष्ठानद्वारा सात विषयगत उपसमिति र संयोजक चयन

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको आन्तरिक रणनीति र सार्वजनिक सरोकारका विभिन्न क्षेत्रहरू हेर्ने गरी सात वटा महत्त्वपूर्ण विषयगत उपसमितिहरूको गठन गर्दै तिनको संयोजक तोकेको छ।

प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले उक्त उपसमितिहरू तय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

नयाँ जिम्मेवारी बाँडफाँडअनुसार निजी क्षेत्र, सेयर बजार, बिमा, सहकारीसहित समग्र वित्तीय क्षेत्र समेटिएको 'अर्थ योजना उपसमिति' को संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल चयन भएका छन्।

प्रतिष्ठानले समसामयिक र भविष्यको पुस्तासँग जोडिएका एजेन्डाहरूलाई सम्बोधन गर्न विभिन्न क्षेत्रका विज्ञ तथा युवा नेताहरूलाई अघि सारेको छ।

जसअन्तर्गत हिमाली क्षेत्रमा परेको असर न्यूनीकरण र समग्र वातावरण संरक्षण अभियानका लागि क्रियाशील रहने 'जलवायु परिवर्तन सचेतना उपसमिति' को संयोजकको जिम्मेवारी रोशनी गिरीलाई सुम्पिएको छ।

त्यसैगरी नयाँ पुस्ताका 'जेन-जेड', 'जेन-वाई' , 'अल्फा' र नागरिक समाजको प्रबुद्ध तहसँग संवाद र समन्वय कायम गर्ने उद्देश्यका साथ स्थापित 'नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति' को संयोजकमा चलचित्र निर्देशक मीनबहादुर भाम चयन भएका छन्। श्रम बजारमा रहेका श्रमिकहरूको हकहितका लागि काम गर्न 'अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमिति' को नेतृत्व महेन्द्र यादवलाई दिइएको छ।

यसैगरी बालबालिकाको हित र बालश्रम विरुद्धको अभियानलाई प्रभावकारी बनाउन गठित 'बाल अधिकार उपसमिति' को संयोजकमा उमंग लोहनी चयन भएका छ। सरकारी तथा सार्वजनिक निकायहरूबाट हुने सेवा प्रवाहमा सुधार र 'थिती' बसाल्ने बहसका लागि गठन गरिएको 'सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमिति' को संयोजकको जिम्मेवारी गोपालप्रसाद पोख्रेललाई तोकिएको छ।

यस्तै सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थाहरूसँग समन्वय बढाउन 'गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति' को संयोजकमा अञ्जु झा चयन भएकी छ। प्रतिष्ठानको यस निर्णयले कांग्रेसलाई नीतिगत रूपमा थप अध्ययनशील र प्रविधिमैत्री बनाउनुका साथै आगामी दिनमा युवा तथा विज्ञ समूहसँगको सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?