वासिंटन। रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिएको हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाएको छ।
अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध लगाएको औपचारिक घोषणा गरेको हो। वासिङ्टनका अनुसार उक्त निकायले विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था सञ्चालन गर्दै आएको छ, जसलाई रोक्न अमेरिकाले यो आर्थिक नियन्त्रणको कदम चालेको हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी गर्नुभएको विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयास गर्नुले तेहरान चरम नगद अभावको दबाबमा परेको सङ्केत गरेको उल्लेख छ।
इरानी नेतृत्वले आफ्नो गतिविधि र कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दाबी गर्दै अर्थ मन्त्रालयले हर्मुज जलमार्ग प्रयोग गरेबापत शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने कडा चेतावनी दिएको छ।
मन्त्रालयले त्यस्ता भुक्तानीहरूलाई इरानको शक्तिशाली सैन्य दस्ता रिभोलुसनरी गार्ड्सलाई सहयोग वा सेवा उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने स्पष्ट पारेको छ।
अर्थमन्त्री बेसेन्टले अमेरिकाले इरानी शासनलाई उसका हतियार कार्यक्रम, क्षेत्रीय सशस्त्र सहयोगी समूह तथा आणविक महत्त्वाकांक्षाका लागि आवश्यक आर्थिक स्रोतबाट वञ्चित गर्न लगातार काम गरिरहेको बताएका छन्।
हालसम्म अमेरिकाले तेहरानलाई दशौं अर्ब डलर बराबरको सम्भावित राजस्व पहुँचबाट टाढा राख्न सफलता हासिल गरेको दाबी समेत विज्ञप्तिमा गरिएको छ।
यसैबीच, प्रतिबन्धमा परेको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले मे २० मा सामाजिक सञ्जाल एक्समा आफ्नो नियामक क्षेत्राधिकार स्पष्ट पार्ने एउटा नक्सा सार्वजनिक गरेको थियो, जसमा हर्मुज जलघाँटीका दुवै किनारतर्फ रातो रेखा कोरेर उक्त मार्ग प्रयोगका लागि इरानी स्वीकृति आवश्यक पर्ने क्षेत्रहरू देखाइएको थियो।
क्षेत्रीय युद्ध र कूटनीतिक तनावबीच यो विवाद थप संवेदनशील मोडमा पुगेको छ। अमेरिकी र इरानी सेनाले अप्रिल ८ यता युद्धविरामको पालना गर्दै आएका भए पनि राजनीतिक समाधानका लागि कूटनीतिक प्रयासहरू ओझेलमा परेका देखिन्छन्।
हर्मुज हुँदै हुने खाडी क्षेत्रको जलपरिवहनमा इरानको नियन्त्रण अझ कडा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमण समेत सुरु गरेको छ।
अर्कातर्फ, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार तेहरानले रणनीतिक हर्मुज मार्गको ट्राफिक व्यवस्थापनलाई निरन्तरता दिने स्पष्ट पारेका थिए।
विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास पारगमन हुने यस समुद्री मार्गमा इरानले कुनै 'टोल' नभई केवल ‘नेभिगेसनल सेवा’ उपलब्ध गराएबापत कानुनी शुल्क लिइरहेको उनको दाबी छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले क्षेत्रभर मिसाइल र ड्रोन आक्रमणमार्फत प्रतिकार गरेको घटनाक्रमले यस जलमार्गको तनावलाई थप बढावा दिएको छ।