प्रतिनिधिसभा बैठक सांसद हर्क साम्पाङद्वारा बैठक बहिष्कार

प्रतिनिधिसभा बैठक सांसद हर्क साम्पाङद्वारा बैठक बहिष्कार

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको सुरुवातमै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित गराउनका लागि सभामुखबाट तत्काल ‘रुलिङ’ हुनुपर्ने माग दोहोर्‍याएका छन्।

संसद्‌मा बोल्दै सांसद राईले प्रधानमन्त्री सदनमा उपस्थित नहुँदासम्म आफ्नो विरोध र आन्दोलन निरन्तर कायम रहने चेतावनी दिए।

सांसद राईले आफ्नो अडान नछोडेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आसन ग्रहण गरी संसद्को कारबाही अघि बढाउन बारम्बार आग्रह गरेका थिए।

तर, सभामुखको आग्रहलाई अस्वीकार गर्दै सांसद राईले संसद् बैठकप्रति विरोध जनाउँदै आजको बैठक बहिष्कार गरेर बाहिरिएका छन्। उनी बाहिरिएसँगै संसद्‌मा अहिले आकस्मिक समयको कार्यसूची सुरु भएको छ।

आजको प्रतिनिधिसभा बैठकमा अन्य महत्त्वपूर्ण कार्यसूचीहरू पनि तय गरिएका छन्। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ।

यसैगरी, राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक आजको बैठकमा टेबुल गरिनेछ।

संसद् सचिवालयका अनुसार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।

छुटाउनुभयो कि ?