वासिङ्टन / ब्रसेल्स। संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) अन्तर्गत उपलब्ध गराउँदै आएको आफ्नो सैन्य प्रतिबद्धतामा उल्लेख्य कटौती गर्ने तयारी गरेको छ।
‘नेटो फोर्स मोडल’ अन्तर्गत युद्धको समयमा तत्काल परिचालन गर्न मिल्ने गरी अमेरिकाले छुट्याएर राखेका लडाकु विमान, युद्धपोत, पनडुब्बी, बमवर्षक र ड्रोन जस्ता सैन्य संरचनाको संख्या घटाउने योजना वासिङ्टनले बनाएको हो।
युरोपबाट प्रकाशित हुने अनलाइन पत्रिका पोलिटिकोका अनुसार, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का सल्लाहकार अलेक्जेन्डर भेलेज-ग्रीनले शुक्रबार आयोजित नेटो निर्देशकहरूको बैठकमा यो योजना सुनाएका थिए।
यस कटौती योजनाअनुसार अमेरिकाले नेटो संरचनामा उपलब्ध गराउँदै आएको लडाकु विमानको सङ्ख्या करिब एक तिहाइसम्म घटाउन सक्नेछ भने पनडुब्बीहरूलाई नेटो संरचनाबाट पूर्ण रूपमा हटाउन सक्ने सम्भावना छ।
यसका साथै रणनीतिक बमवर्षक, ड्रोन, युद्धपोत र आकाशमै इन्धन आपूर्ति गर्ने ट्याङ्कर विमानको सङ्ख्यामा पनि उल्लेख्य कटौती गरिने बताइएको छ। यद्यपि, अमेरिकाले युरोपमा आफ्नो आणविक प्रतिरोध (न्यूक्लियर डिटरन्स) क्षमता भने यथावत् राख्ने आश्वासन दिएको छ, जसको सिधा अर्थ अब युरोपको परम्परागत रक्षा जिम्मेवारी धेरै हदसम्म युरोपेली देशहरू आफैँले सम्हाल्नुपर्ने हुन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि नेटो गठबन्धन अमेरिकामाथि अत्यधिक निर्भर भएको भन्दै युरोपेली साझेदारहरूलाई आफ्नो रक्षा खर्च बढाउन दबाब दिँदै आएका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि स्विडेनमा सम्पन्न नेटो विदेशमन्त्रीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै युरोपमा अमेरिकी सैन्य उपस्थिति समायोजन हुने कुरा गठबन्धनभित्र बुझिएको विषय भएको र यसबारे सहयोगी राष्ट्रहरूसँग समन्वय भइरहेको स्पष्ट पारेका छन्।
यो कटौतीको अन्तिम स्वरूप र समयसीमा भने युरोपेली देशहरूको क्षमता र वैकल्पिक व्यवस्थाको आधारमा तय हुनेछ, जसका बारेमा आगामी महिना हुने नेटोको ‘फोर्स जेनेरेसन कन्फरेन्स’ मा थप छलफल हुने अपेक्षा गरिएको छ।
जर्मन पत्रिका स्पिगेलका अनुसार, अमेरिकी यो प्रस्ताव युरोपेली मुलुकहरूले अपेक्षा गरेभन्दा निकै गम्भीर प्रकृतिको देखिएको छ।
विशेष गरी रणनीतिक बमवर्षक र युद्धपोत जस्ता सैन्य साधनहरूको अभाव तत्काल पूर्ति गर्न युरोपका लागि निकै कठिन हुनेछ, किनकि युरोपेली नेटो सदस्यहरूसँग आणविक हतियार बोक्न सक्ने आफ्नै रणनीतिक बमवर्षकहरू छैनन्। उता, नेटो नेतृत्वले भने यसलाई गठबन्धनभित्र जिम्मेवारी सन्तुलन गर्ने एउटा स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरेको छ।
नेटो महासचिव मार्क रूट्टेकी प्रवक्ताले विगतमा नेटो अमेरिकामाथि बढी निर्भर रहेको स्वीकार गर्दै हाल युरोप र क्यानडाले रक्षा लगानी बढाइरहेकाले जिम्मेवारीको भार सन्तुलित रूपमा सार्न सकिने धारणा राखेकी छन्।
रक्षा विश्लेषकहरूका अनुसार अमेरिकाले यो प्रस्ताव कार्यान्वयन गरेमा युरोपेली देशहरूलाई आगामी केही वर्षभित्रै आफ्नो रक्षा क्षमता सुदृढ गर्न ठूलो लगानी गर्नुपर्ने तीव्र दबाब सिर्जना हुनेछ।
अमेरिकाले यो कदम चाल्नुको पछाडि मुख्य कारण सन् २०२७ तिर चीन-ताइवान तनाव थप चर्किन सक्ने सैन्य आकलन रहेको बताइएको छ। वासिङ्टनले युरोपबाट आफ्नो सैन्य शक्ति थोरै खुकुलो बनाएर आफ्ना सैन्य स्रोत र ध्यानलाई इन्डो-प्यासिफिक (हिन्द-प्रशान्त) क्षेत्रतर्फ बढी केन्द्रित गर्न खोजेको रणनीतिक विश्लेषण गरिएको छ।