केन्द्रमा शक्ति गुमाएका पुराना दलहरूको ध्यान प्रदेशमा: सातै प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी

केन्द्रमा शक्ति गुमाएका पुराना दलहरूको ध्यान प्रदेशमा: सातै प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी

काठमाडौं।  संघीय संसद्मा साना दलको हैसियतमा सीमित हुन पुगेका पुराना राजनीतिक दलहरू यतिबेला केन्द्रको राजनीतिक प्रभाव गुमेपछि प्रदेश सरकारहरूमा आफ्नो उपस्थिति बलियो बनाउने खेलमा लागेका छन्। पछिल्लो निर्वाचनपश्चात् केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ।

विगतमा केन्द्रीय सरकारमा हालीमुहाली गर्दै गठबन्धन बनाउने र गिराउने खेलमा सक्रिय रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी जस्ता पुराना दलहरू अहिले साना दलमा सीमित भएसँगै प्रदेशहरूमा सत्ता समीकरण फेरबदल गर्न लागिपरेका छन्। यसै क्रममा जसपा र जनमत पार्टी सङ्घीय संसद्मा शून्य अवस्थामा पुगेका छन्।

पछिल्लो राजनीतिक विकासक्रम अनुसार मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले हालै प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएपछि एमाले सरकारमा सहभागी भएको छ र मुख्यमन्त्रीको पक्षमा ६२ तथा विपक्षमा ३८ मत परेको थियो, जसमा जसपा, जनमत र राप्रपा विपक्षमा उभिएका थिए।

यता कोशी प्रदेशमा पनि बजेट आउनु अगावै सरकार परिवर्तनका लागि आन्तरिक छलफल तीव्र पारिएको छ। कांग्रेस र एमालेबीच आधा-आधा कार्यकाल सरकार सञ्चालन गर्ने पूर्वसहमति भएकाले कांग्रेसले बजेट अगाडि नै नेतृत्व दाबी गरिरहेको भए पनि एमाले वर्तमान सरकारकै निरन्तरताको पक्षमा देखिन्छ। कोशीमा मधेस प्रदेश जस्तै कांग्रेस, एमाले र नेकपासहितको संयुक्त सरकार बनाउने कसरत पनि भइरहेको छ।

यसैगरी बागमती प्रदेशमा पनि आलोपालो सहमति अनुसार सरकार हेरफेरको गृहकार्य सुरु भएको छ। बागमतीमा हाल कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनुहुन्छ र पूर्वसहमति अनुसार एमालेले नेतृत्व पाउनुपर्ने भए पनि नेताहरू केन्द्रीय निर्णयको पर्खाइमा रहेका छन्।

गण्डकी प्रदेशमा पनि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको र त्यहाँ पनि नेकपासहितको संयुक्त सरकार गठन गर्ने गृहकार्यका कारण नेतृत्व परिवर्तनमा केही ढिलाइ भइरहेको छ। लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ तर पूर्वसहमति अनुसार आफ्नो समय पुगिसकेकाले अब कांग्रेसले सरकारको नेतृत्व लिने तयारी गरिरहेको छ।

कर्णाली प्रदेशमा पनि सरकारको नेतृत्व परिवर्तनको बलियो सम्भावना देखिएको छ, जहाँ हाल एमालेका यामलाल कँडेल मुख्यमन्त्री हुनुहुन्छ र कांग्रेसले अब आफ्नो नेतृत्वमा सरकार गठन हुने दाबी गरेको छ। उता सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहनुभएकोमा त्यहाँ नेकपा सबैभन्दा ठूलो दल भएकाले नेकपाकै नेतृत्वमा कांग्रेस र एमालेसहितको संयुक्त सरकार बनाउने गृहकार्य भइरहेको छ।

हाल सात प्रदेशमध्ये कोशी, लुम्बिनी र कर्णालीमा एमाले तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ। केन्द्रमा हैसियत कमजोर भएका यी पुराना दलहरू अहिले भागबन्डाकै आधारमा सातै प्रदेशमा कांग्रेस, एमाले र नेकपाको संयुक्त सरकार बनाउने गरी शीर्ष तहमा निरन्तर छलफलमा जुटिरहेका छन्।

छुटाउनुभयो कि ?