काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक र देखिने गरी सुधार ल्याउन आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत र अन्य मुलुकका कूटनीतिज्ञहरूसँग भएको संयुक्त भेटवार्तामा उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्री शाहले वर्तमान समयको आवश्यकता र आफ्नो काँधमा आएको गहन जिम्मेवारीलाई सरकारले राम्रोसँग बोध गरिरहेको उल्लेख गरे।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनको परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको उल्लेख गरे। उनले नयाँ सरकार गठन भए पनि देशको नीतिगत निरन्तरता कायम रहने प्रष्ट पारे।
नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको भन्दै उनले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए।
जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न विश्व बजारबाट लाभ लिने, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै दिगो विकास हासिल गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।
यसैगरी, प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे। छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित रहेको बताउँदै उनले नेपालको विकासमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे।
उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटनका क्षेत्रमा सहकार्य सुदृढ बनाउन नेपाल लागिपरेको बताए। विश्वका विभिन्न भूभागमा भइरहेका द्वन्द्वका कारण सर्वसाधारणले पीडा भोग्नुपरेको प्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिए।
भेटमा सहभागी राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै सुशासन र आर्थिक विकासका लागि नेपालसँग सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाए।