देशका विभिन्न भागमा प्राकृतिक विपद्‌को कहर: तत्काल राहत, क्षतिपूर्ति र उद्धार गर्न संसद्‌मा सांसदहरूको सामूहिक माग

देशका विभिन्न भागमा प्राकृतिक विपद्‌को कहर: तत्काल राहत, क्षतिपूर्ति र उद्धार गर्न संसद्‌मा सांसदहरूको सामूहिक माग

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले देशका विभिन्न जिल्लाहरूमा पछिल्लो समय आएको भीषण वर्षा, बाढी, पहिरो र हावाहुरीका कारण नागरिकको जनजीवन तथा भौतिक पूर्वाधारहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै सरकारको आकस्मिक ध्यानाकर्षण गराएका छन्।

सभाको आकस्मिक समयमा बोल्दै सांसद बलावती शर्माले बागलुङमा हावाहुरीले विद्यालय र सर्वसाधारणका घरका छानाहरू उडाउनुका साथै ठूलो परिमाणमा कृषिबाली नष्ट गरेको तर्फ ध्यानाकर्षण गराउँदै पीडितहरूलाई उचित क्षतिपूर्ति र राहत दिन माग गरिन्। यस्तै, सांसद सोम शर्माले विपद् जोखिम व्यवस्थापनमा सरकार पूर्ण रूपमा गम्भीर हुनुपर्ने धारणा राख्दै ग्रामीण क्षेत्रका जोखिमयुक्त कच्ची घरहरूमा जस्तापाताको व्यवस्था मिलाइदिन आग्रह गरे।

संसद्‌मा प्राकृतिक प्रकोपसँगै अन्य जनस्वास्थ्य र भौतिक क्षतिका विषयहरू पनि जोडदार रूपमा उठेका छन्। सांसद सन्दीप रानाले जङ्गली विषादी च्याउ खाँदा नागरिकको ज्यान गइरहेको दुःखद दृष्टान्त पेस गर्दै बजार तथा जङ्गलमा पाइने खान मिल्ने र विषालु च्याउलाई स्पष्ट वर्गीकरण गर्ने वैज्ञानिक प्रणाली विकास गर्न सरकारसँग अनुरोध गरे।

गुल्मीको अवस्थाबारे बोल्दै सांसद गोविन्द पन्थीले हालैको हावाहुरीले मालिका गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको जानकारी दिँदै क्षतिको तत्काल मूल्यांकन गरी राहत र क्षतिपूर्ति वितरण गर्न माग गरे।

यसैगरी, सांसद भूमिका लिम्बू सुब्बा र नरेन्द्रकुमार केरूङले पहिरोका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको र मध्यपहाडी (पुष्पलाल) लोकमार्गको फलैचाँ (दोभाने) लगायतका सडकखण्डहरू अवरूद्ध भएकाले क्षतिको यकिन विवरण संकलन गरी तत्काल सडक मर्मत तथा निर्माण कार्य सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

बैठकमा सांसद आशिष गजुरेलले बिपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढीका कारण बालबालिकाहरूले अकालमै ज्यान गुमाउनु परेकोमा गहिरो चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनमा पूर्वसचेतनाका कार्यहरूलाई अझ बढी प्रभावकारी बनाउन ठोस सुझाव दिए।

त्यस्तै, सांसद क्षितिज थेबेले गत जेठ ८ गतेको भीषण वर्षाका कारण ताप्लेजुङ र पाँचथरमा विपद्जन्य घटनाबाट प्रभावित भएका जनतालाई अविलम्ब क्षतिपूर्ति दिन माग गरे।

स्वास्थ्य क्षेत्रको विकृतिबारे बोल्दै सांसद रामविनोद यादवले स्वास्थ्यकर्मीको चरम लापरबाहीका कारण धनुषामा उपचारका क्रममा एक गर्भवती महिलाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन सरकार सचेत हुनुपर्ने बताए।

यसैगरी, देशका विभिन्न क्षेत्रमा अवरुद्ध भएका आधारभूत सेवाहरूबारे बोल्दै सांसद सुशान्त वैदिकले प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा केही दिनदेखि बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएकाले तत्काल ध्यान दिन आग्रह गरे भने सांसद शम्भुप्रसाद ढकालले झापामा वर्षाका कारण बिजुली अवरुद्ध भएको र हावाहुरीले केराखेतीमा ठूलो नोक्सानी पुर्‍याएकाले किसानहरूलाई राहत दिन माग गरे।

सुदूरपश्चिमको पीडा संसद्‌मा राख्दै सांसद प्रेमबहादुर बयकले हालैको वर्षा र पहिरोका कारण अछामको रामारोशनमा स्थानीय किसानका दुई सय भेडाहरू मरेर ठूलो क्षति भएको जानकारी दिँदै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरे।

बैठकको अन्त्यतिर, सांसद रेखाकुमारी यादवले सर्वाेच्च अदालतको फैसला र कानुनी मर्यादाविपरीत महोत्तरी जिल्लास्थित गौशलाका ३४ घरधुरीहरू जबर्जस्ती भत्काउन खोजिएको भन्दै उक्त कार्यप्रति कडा आपत्ति व्यक्त गरे।

छुटाउनुभयो कि ?