काभ्रेपलाञ्चोक। जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य सुरु भएको छ।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले एक विशेष समारोहका बीच यस परियोजनाको संयुक्त रूपमा शिलान्यास गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सुरु भएको यस आयोजना अन्तर्गत ३ दशमलव २ किलोमिटर सडकखण्डको पुनर्निर्माण गरिने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।
विसं २०८१ असोज १२ गतेको विनाशकारी बाढीपहिरोका कारण बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली क्षेत्रमा करिब ३० किलोमिटर सडकखण्डमा गम्भीर क्षति पुगेकाले यसको मर्मत तथा पुनर्निर्माण अति आवश्यक देखिएको थियो।
यस पिप्ले–बर्खेखोला सडकखण्ड पुनर्निर्माणको जिम्मा जापानको सिमिजु कर्पोरेसनले लिएको छ। यसअघि जाइकाको टोलीले पूर्वतयारी स्वरूप निर्माण क्याम्प र अस्थायी सडक बनाउने जस्ता कार्यहरू सम्पन्न गरिसकेको थियो।
यो परियोजनाका लागि जापान सरकारले २ अर्ब ८० करोड येन अनुदान दिने गरी गत २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो। हाल बिपी राजमार्गको क्षतिग्रस्त सडकलाई चारवटा फरक खण्डमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ।
काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका अन्य तीनवटा सडकखण्डमा हालसम्म कुल २५ प्रतिशत काम सम्पन्न भइसकेको छ। विसं २०८१ असोजको बाढी र २०८२ को वर्षायाममा थप क्षति पुगेपछि गत मंसिरदेखि नै कानुनी प्रक्रिया पूरा गरेर स्थायी पुनर्निर्माणको जग बसालएको हो।
अहिले राजमार्गका विभिन्न क्षतिग्रस्त स्थानहरूमा 'आरसिसी' पर्खाल लगाउने काम तीव्र पारिएको छ। चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउने तथा चारसयबेँसी र भकुन्डेबेँसीमा पनि आरसिसी पर्खाल निर्माण भइरहेको छ। साथै डालाबेँसी–मङ्गलटार खण्ड र चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने काम भइरहेको छ।
विगतका बाढीले पूर्ण रूपमा सडक बगाएका (वासआउट) स्थानहरूमा अब आउने बाढीले क्षति पुर्याउन नसक्ने गरी नयाँ संरचनाको डिजाइन गरिएको छ। चालु वर्षमा संरचना निर्माण र सडक चौडा गर्ने काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी स्थानमा संरचना बनाई कालोपत्र गर्ने योजनाका साथ कामलाई तीव्रता दिइएको छ।
अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै पुलहरू सहित सडकलाई दुई लेनको बनाइनेछ, जस अन्तर्गत पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ।
राजमार्गका अन्य खण्डहरूको पुनर्निर्माणका लागि पनि विभिन्न निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता भइसकेको छ। डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८ दशमलव ५ किमी सडक खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा र चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक लामा–नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा पुनर्निर्माण गर्दैछन्।
त्यस्तै, नेपालथोकदेखि बर्खेखोलासम्मको ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ६१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। सरकारले क्षतिग्रस्त खण्डको पुनर्निर्माणका लागि कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ, जसमा काभ्रेतर्फका तीन खण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डलाई १ अर्ब रुपैयाँ छुट्याइएको छ।
स्मरणरहोस्, जापान सरकारकै अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट निर्माण सुरु भएको १६० किलोमिटर लामो यो धुलिखेल–सिन्धुली–बर्दिवास राजमार्ग विसं २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।