तीनवटा मौसमी प्रणालीको असर: काठमाडौँमा वर्षा, तराईमा हावाहुरी र चर्को गर्मी

तीनवटा मौसमी प्रणालीको असर: काठमाडौँमा वर्षा, तराईमा हावाहुरी र चर्को गर्मी

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै देशको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रणको प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराई भू-भागमा आंशिक बदली हुने सम्भावना छ।

यसैगरी आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षा र हिमपातको आकलन गरिएको छ।

लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने भए पनि समग्रमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने आजको दिन निकै तातो हुने देखिएको छ। साथै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसममा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली नै रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि ती प्रदेशका तराई भू-भागमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र मधेश प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसका साथै लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?