हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी

काठमाडौं। आइतबार दिउँसो आएको तीव्र हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढलेर अस्थायी रूपमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। विद्युत आपूर्तिमा समस्या देखिएलगत्तै नेपाल विद्युत प्राधिकरणले प्रभावित क्षेत्रहरूमा मर्मतसम्भारको कामलाई तीव्र गतिमा अघि बढाएको छ।

अवरोध हटाउन र विद्युत पुनः सञ्चालन गर्न प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा कार्यक्षेत्रमा खटिएका छन्। यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि प्राधिकरणका पदाधिकारीहरूलाई तत्काल मर्मत कार्य अगाडि बढाउन निर्देशन दिएका छन्।

प्राधिकरणले दिएको विवरण अनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डको टावर नम्बर १२२ र १२३ को बीचमा रुख ढलेर प्रसारण लाइन प्रभावित भएको थियो। उक्त स्थानबाट गुडिसकेको रुख हटाई अहिले सर्किट चार्ज गर्ने कार्य भइरहेको छ। सोही खण्डको टावर नम्बर १३६ र १३७ को बीचमा ढलेका तीन वटा रुखहरू पनि हटाइसकिएको छ भने लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक कामहरू जारी राखिएको छ।

त्यस्तै, अमलेखगञ्ज–कामाने खण्डको टावर नम्बर ४६ र ४७ को बीचमा एउटा रुख ढल्दा प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ। उक्त स्थानको मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र ‘स्ट्रिङिङ’ को काम सुरु भइसकेको प्राधिकरणले जनाएको छ।

हुरीका कारण उत्पन्न यस समस्यालाई सम्बोधन गर्दै सोमबार बिहानसम्ममा सबै क्षेत्रमा सहज रूपमा बिजुली आपूर्ति गराउने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणले उल्लेख गरेको छ।

छुटाउनुभयो कि ?