पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको जोखिम

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको जोखिम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ।

सोही मौसमी प्रणालीका कारण अहिले कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। मधेशसहित लुम्बिनीको पहाडी र हिमाली भेगमा आंशिक बदली रहे पनि बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। मधेश प्रदेश लगायत अन्य प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भए पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा नै रहनेछ।

यसैगरी आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका कतिपय क्षेत्रमा वर्षाको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा भने दिन तातो हुने र तराई भू-भागमा तातो लहर (लू) चल्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज राति पनि देशको मौसमी वायुमा खासै फेरबदल हुने छैन। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागे पनि तराई क्षेत्रमा मौसम सफा रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?