भारतमा इन्धन अभावको हल्ला भ्रामक, आपूर्ति पूर्ण रूपमा सामान्य: एचपीसीएल

भारतमा इन्धन अभावको हल्ला भ्रामक, आपूर्ति पूर्ण रूपमा सामान्य: एचपीसीएल

काठमाडौं । भारतको प्रमुख सरकारी तेल कम्पनी हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल) ले देशमा तेल र ग्यासको अभाव भएको भन्ने हल्लालाई पूर्ण रूपमा खारेज गरेको छ।

इरान सङ्कटका कारण इन्धन आपूर्तिमा समस्या आएको र विभिन्न क्षेत्रमा ग्यासको हाहाकार भएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका रिपोर्टहरू भ्रामक र वास्तविकताभन्दा बाहिर रहेको कम्पनीले स्पष्ट पारेको हो।

कम्पनीका अनुसार देशभर रहेका यसका खुद्रा बिक्री केन्द्र (रिटेल आउटलेट) हरूमा इन्धनको आपूर्ति र वितरण विनाकुनै अवरोध नियमित रूपमा भइरहेको छ।

भीडभाड बढ्नुको वास्तविक कारण के हो?
 

केही पेट्रोल पम्पहरूमा देखिएको ग्राहकहरूको लामो लाइन र भीडभाडलाई लिएर बजारमा फैलाइएको भ्रमबारे स्पष्ट पार्दै एचपीसीएलले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा लेखेको छ:

"केही स्थानहरूमा ग्राहकहरूको सङ्ख्या र लाइनमा देखिएको अस्थायी वृद्धि मुख्यतया मे महिनाको मौसमी माग बढेका कारणले हो। यसका साथै, केही निजी डिपिआर (निजी पेट्रोल पम्प) हरूले इन्धनको मूल्य बढाएर बेचिरहेका छन्। निजी क्षेत्रको तुलनामा एचपीसीएलमा इन्धन सस्तो र भरपर्दो भएकाले ग्राहकहरूले हाम्रा आउटलेटहरूलाई बढी प्राथमिकता दिएका हुन्, जसले गर्दा भीड देखिएको हो।"

एचपीसीएलले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई कुनै पनि भ्रामक समाचारको पछि नलाग्न र आपूर्ति व्यवस्था पूर्ण रूपमा सुरक्षित तथा सुचारु रहेकोमा ढुक्क हुन आग्रह गरेको छ।