प्रधानन्यायाधीश नियुक्तिमा असन्तुष्टि: सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

प्रधानन्यायाधीश नियुक्तिमा असन्तुष्टि: सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाडौं। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्। चौथो वरीयतामा रहेका न्यायाधीश मनोशकुमार शर्मा नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल लामो बिदामा बसेकी हुन्।

न्यायाधीशहरू बिदा बस्नका लागि प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि निवेदन पेस गर्ने प्रचलन रहेको छ। तर, शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुअघिसम्म कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी मल्लले आफ्नै कार्यकालमा सो बिदा स्वीकृत गराएर बसेको अदालत स्रोतले जनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले वरिष्ठतम न्यायाधीश मल्ल हिजैदेखि लागू हुने गरी २० दिनको बिदा स्वीकृत गराएर बसेकाे जानकारी दिए।

सर्वोच्च अदालतको वरीयताक्रममा पहिलो नम्बरमा रहेकी मल्ल, दोस्रो नम्बरका न्यायाधीश कुमार रेग्मी र तेस्रो नम्बरका न्यायाधीश हरिप्रसाद फुयाललाई पछि पार्दै संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। आफूभन्दा कनिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइएको प्रति मल्ल निकै असन्तुष्ट रहेकी छिन्।

यसै असन्तुष्टिका कारण मङ्गलबारसम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी मल्ल नयाँ प्रधानन्यायाधीश शर्माको स्वागत कार्यक्रममा समेत उपस्थित भइनन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएर सर्वोच्च अदालत पुगेका प्रधानन्यायाधीश शर्मालाई वरिष्ठतम न्यायाधीश मल्लको अनुपस्थितिमा दोस्रो वरीयताका न्यायाधीश कुमार रेग्मीले स्वागत गरेका थिए।