संसद्को आकस्मिक समय: स्वास्थ्य सामग्रीको अभावदेखि हुम्लाको बाढी र इबोला जोखिमसम्म सरकारको ध्यानाकर्षण

संसद्को आकस्मिक समय: स्वास्थ्य सामग्रीको अभावदेखि हुम्लाको बाढी र इबोला जोखिमसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुम्बासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायतका जनसरोकारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले नागरिकको आधारभूत अधिकार र तत्कालीन संकट समाधानमा राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिए।

बैठकमा सांसद ज्ञानु पौडेलले नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा देशभर सहज र प्रभावकारी हुन नसकेको बताइन्। उनले रूपन्देहीको ९३ वर्ष पुरानो ऐतिहासिक भीम अस्पतालमा एन्टि–रेबिज खोप, सर्पदंशको उपचारका लागि आवश्यक औषधि तथा अन्य जीवनरक्षक औषधिको चरम अभाव रहेको उल्लेख गर्दै तत्काल व्यवस्थापन गर्न माग गरिन्।

अर्कातर्फ, सांसद डा. अर्जुनकुमार कार्कीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर स्वास्थ्य जोखिमका रूपमा लिएको इबोला भाइरस सङ्क्रमणप्रति सरकार सजग हुनुपर्ने बताए। अफ्रिकी मुलुकहरूमा कार्यरत नेपाली नागरिकका कारण नेपालमा पनि यसको जोखिम भित्रिन सक्ने भएकाले विमानस्थल तथा नाकाहरूमा आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे।

विपद् व्यवस्थापन र राहतको विषयमा बोल्दै सांसद यशोधाकुमारी बराल र रमेश सापकोटाले हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका-५ मा आएको भीषण एवं असामान्य बाढीले ठूलो क्षति पुर्‍याएको तर्फ संसद्को ध्यानाकर्षण गराइन्। सडक पहुँचको अभावका कारण प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको भन्दै उनीहरूले तत्काल बजेट विनियोजन गरी हेलिकप्टरमार्फत उद्धार तथा राहत वितरण गर्न र विपद् व्यवस्थापनका लागि दीर्घकालीन संयन्त्र बनाउन माग गरे। यस्तै, सांसद खडकबहादुर बुढाले प्राकृतिक विपद्बाट क्षति पुगेका सडक, खानेपानी लगायतका पूर्वाधारको पुनःस्थापना कार्यलाई तीव्रता दिन आग्रह गरे।

बैठकमा सुकुम्बासी र सामाजिक सुरक्षाका मुद्दाहरूले पनि प्राथमिकता पाए। सांसद गुरुप्रसाद बरालले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी नागरिकले निकै असहज अवस्था भोगिरहेकाले उनीहरूको स्थायी बसोबासको दीर्घकालीन समाधान खोजिनुपर्ने बताए। सांसद मदनकृष्ण श्रेष्ठले अति अपांगता भएका व्यक्तिको संरक्षण र हेरचाहका लागि राज्यले विशेष भत्ता वा व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइ भने सांसद समिना मियाँले मुस्लिम समुदायको महान् पर्व बकर इदको अवसरमा तय गरिएका परीक्षाहरू स्थगित गरी देशको सांस्कृतिक संवेदनशीलताको सम्मान गर्न आग्रह गरे। यसैगरी, देशमा बढ्दै गएको सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सांसद साजिदा खातुन सिद्धिकीले सडक सुधार र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग माग गरिन्।

धेरै पढिएको

छुटाउनुभयो कि ?