अर्थमन्त्रीबिनै बजेट छलफल: बालेन सरकारको कार्यशैलीप्रति सत्तापक्षकै सांसदको आपत्ति

अर्थमन्त्रीबिनै बजेट छलफल: बालेन सरकारको कार्यशैलीप्रति सत्तापक्षकै सांसदको आपत्ति

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैली र स्थापित संसदीय परम्पराको उल्लंघनप्रति संसद्‍भित्रैबाट गम्भीर प्रश्न उठ्न थालेको छ।

बजेटका प्राथमिकता र सिद्धान्तमाथिको अत्यन्तै महत्त्वपूर्ण छलफल चलिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले संसद् बैठकमा अनुपस्थित भएपछि सत्तापक्षकै सांसद अमरेश सिंहले सदनमा चर्को आक्रोश व्यक्त गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले नयाँ शक्ति र परम्परा तोड्ने नाममा स्थापित संसदीय प्रणाली तथा संसद्को स्थापित 'सिस्टम' नै भत्काउन खोजिएको भन्दै कडा आपत्ति जनाए।

सर्लाही क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेका सिंहले संसद्‍मा सरकारको गैरजिम्मेवारीपन प्रस्ट चम्किएको दाबी गरे।

"बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री अनिवार्य रूपमा सदनमा बस्नुपर्ने संसद्को नियम र स्थापित प्रणाली छ," सांसद सिंहले आक्रोश पोख्दै भने, "परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन, उहाँ बसेर हुन्न। म पछिल्लो २० वर्षको संसदीय इतिहासमा पहिलोपटक अर्थमन्त्रीबिना नै बजेटमाथि यस्तो हलुका छलफल भइरहेको देख्दै छु।" उनले नयाँ बन्ने र देखाउने नाममा राज्यका आधारभूत संरचना र पद्धति भत्काउन नहुनेमा जोड दिए।

यसैबीच, सांसद सिंहले मधेशको अत्यधिक बहुमत र भोट पाएर बनेको वर्तमान सरकारले बजेट, नीति तथा कार्यक्रममा मधेशी जनतालाई पूर्ण रूपमा उपेक्षा गरेको भन्दै चर्को असन्तुष्टि समेत व्यक्त गरे।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फ यो सरकार निर्माणका लागि सबैभन्दा बढी जनमत मधेशले दिएको स्मरण गराउँदै उनले सरकारले मधेशको अधिकार, बजेट हिस्सा र भावनालाई पूर्ण रूपमा पन्छाएको गम्भीर आरोप लगाए।

छुटाउनुभयो कि ?