प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै गर्ने भएको छ। समितिका सचिव तुलबहादुर विश्वकर्माका अनुसार प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि आज दिउँसो १:३० बजेको समय कार्यसूचीमा तय गरिएको छ।

यसअघि आजै बिहान समितिको बैठक प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीहरूको अध्ययन गर्नका लागि बोलाइएको थियो। बैठकमा विपक्षी दलका सांसदहरू पद्मा अर्याल, वर्षमान पुन, र नरबहादुर विष्ट लगायतले छ वर्षसम्म न्यायपालिकाको नेतृत्व गर्ने प्रधानन्यायाधीशको कार्ययोजना अध्ययन गर्न पर्याप्त समय चाहिने र स्थापित प्रक्रिया अनुसार नै अगाडि बढ्नुपर्ने माग राखेका थिए।

तर, समितिका अन्य सदस्यहरू कवीन्द्र बुर्लाकोटी र मधु चौलागाईं लगायतले भने उजुरी अध्ययन गर्न धेरै समय नलाग्ने जिकिर गर्दै सुनुवाइ प्रक्रियालाई छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। सांसदहरूबीच मतभेद भएपछि समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरीकर्ताहरूको कुरा सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सोझै प्रश्न गर्न सकिने स्पष्ट पारे। उनले अध्ययनका लागि लामो समय आवश्यक नपर्ने उल्लेख गर्दै प्रक्रिया अघि बढाउन सबै सदस्यहरूलाई सहयोगका लागि आग्रह गरे।

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा कुल सात वटा उजुरी परेका छन्। संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने प्रावधान रहेको छ।

छुटाउनुभयो कि ?