नाइजेरियाली युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेका रास्वपा सांसद कार्कीसँग स्पष्टीकरण सोधिँदै

नाइजेरियाली युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेका रास्वपा सांसद कार्कीसँग स्पष्टीकरण सोधिँदै

काठमाडाैं। अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद कृष्णकुमार कार्कीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीको विषयलाई लिएर चौतर्फी चासो र आलोचना बढेपछि पार्टीले उनीसँग स्पष्टीकरण माग्न लागेको हो । रास्वपा स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए उनलाई कारबाही गर्नेसम्मको तयारी पार्टीले गरेको छ ।

पीडित २६ वर्षीया नाइजेरियाली युवती रिता अजुको हाल गर्भवती अवस्थामा छिन् र उनले आफूसँग खाने पैसा समेत नभएको गुनासो पोखेकी छन् । आफू गर्भवती भएको जानकारी पाएलगत्तै सांसद कार्की सम्पर्कविहीन बनेको उनको भनाइ छ ।

ठमेलमा बस्दै आएकी अजुको र कार्की लामो समयदेखि लिभिङ टुगेदर (सहजीवन) मा रहँदै आएका थिए । युवतीका अनुसार उनको इच्छा नहुँदानहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका थिए । गर्भ रहेको थाहा पाएपछि अजुकोले गर्भपतन गर्न चाहे पनि कार्कीले नै त्यसो गर्न रोकेका थिए ।

अहिले अस्पतालको कागजातमा समेत पतिको नाम कृष्ण कार्की नै उल्लेख छ भने कार्कीले उनलाई ‘माई वाइफ, माई लाइफ’ र ‘माई लभ’ भनी पठाएका सन्देशहरू समेत सार्वजनिक भएका छन् ।

सांसद कार्की यसअघि नयाँबानेश्वरस्थित संसद् भवन जलाउने कार्यमा प्रत्यक्ष संलग्न रहेको गम्भीर आरोप लागेका व्यक्ति हुन् । विवादित छवि भएका व्यक्तिलाई टिकट दिएको भन्दै रास्वपाभित्र र बाहिर यसअघि पनि चर्को विरोध भएको थियो ।

मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएका कार्की वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति हुन् र उनी यो घटना हुनुभन्दा केही दिनअघि मात्र नेपाल आएका थिए ।

विवादका बीच निर्वाचनमा होमिएका कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार बगडियाले १४ हजार ६२४ मत पाएका थिए । सोही निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल भने १२ हजार ६ सय ६४ मत मात्र ल्याएर तेस्रो स्थानमा सीमित भएका थिए ।

छुटाउनुभयो कि ?