अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो (एजेन्सी)। अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा भएको अन्धाधुन्ध गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। घटनालगत्तै फरार भएका र आक्रमणमा संलग्न रहेको आशंका गरिएका दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत अवस्थामा फेला परेको बीबीसीले जनाएको छ।

सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो मस्जिद मानिने क्लेरमोन्ट क्षेत्रमा अवस्थित ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा सो बीभत्स घटना भएको हो। सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार प्राथमिक प्रमाणहरूका आधारमा यो घटनालाई ‘घृणाजन्य अपराध’ (हेट क्राइम) का रूपमा लिएर गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाइएको छ।

घटना हुनुपूर्व एक आमाले आफ्नो छोरा हराएको भन्दै प्रहरीमा रिपोर्ट गरेपछि यसको पृष्ठभूमि खुलेको थियो। ती महिलाले आफ्नो छोरा एकाएक बेपत्ता भएको र उसले घरमा रहेका केही हतियारका साथै कारसमेत लिएर गएको जानकारी प्रहरीलाई गराएकी थिइन्।

मस्जिदमा हतियारधारीले आक्रमण सुरु गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीले बहादुरीपूर्वक प्रतिकार गरेका थिए। आक्रमणकारीको गोली लागि ती सुरक्षाकर्मीको समेत मृत्यु भएको छ। सुरक्षाकर्मीले समयमै बलियो प्रतिकार गरेका कारण मस्जिदभित्र रहेका अन्य धेरै सर्वसाधारणको ज्यान जोगिन सफल भएको प्रहरी प्रमुख वाह्लले बताएका छन्।

मस्जिदमा अन्धाधुन्ध गोली चलाई फरार भएका दुई किशोर संदिग्धहरू घटनास्थलभन्दा केही पर सडकमा गुडिरहेको कारभित्रै मृत भेटिएका थिए। प्रहरीका अनुसार कारभित्र मृत भेटिएका उनीहरूले आत्मसमर्पण गर्नुको साटो आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?