पश्चिमी र स्थानीय वायुको प्रभाव: लुम्बिनी र सुदूरपश्चिममा तापक्रम बढ्ने

पश्चिमी र स्थानीय वायुको प्रभाव: लुम्बिनी र सुदूरपश्चिममा तापक्रम बढ्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने सम्भावना छ।

मधेस प्रदेश र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने भए पनि देशका बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। दिउँसोको समयमा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको आकलन गरिएको छ।

यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रमा वर्षा र बदलीको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा भने तापक्रम बढ्ने देखिएको छ।

आज रातिको मौसम पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने तराईका अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?