संसद्‌मा राष्ट्रिय र स्थानीय समस्याको चाङ: छानबिन, कारबाही र विकास आयोजना सुचारु गर्न सरकारसँग माग

संसद्‌मा राष्ट्रिय र स्थानीय समस्याको चाङ: छानबिन, कारबाही र विकास आयोजना सुचारु गर्न सरकारसँग माग

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मुलुकका समसामयिक, जनजीविका र क्षेत्रीय विकासका विविध मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विशेष गरी कृषि, वैदेशिक रोजगारी, यातायात र स्थानीय समस्याहरूलाई जोडदार रूपमा उठाएका हुन्।

वर्षायाम सुरु भएसँगै धान रोप्ने समय नजिकिँदै गएको सन्दर्भ उल्लेख गर्दै सांसद अच्युतम लामिछानेले किसानका लागि समयमै मल, बीउ र आवश्यक कृषि औजार उपलब्ध गराएर समस्या समाधान गर्न माग गरे।

यस्तै, सांसद कृष्णहरि बुढाथोकीले रामेछापमा खानेपानी, टेलिफोन, बाँदरको आतङ्क र रासायनिक मलको अभाव जस्ता समस्या तत्काल हल गर्न सरकारको ध्यानाकर्षण गराए।

वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति र कामदारको सुरक्षाका विषय पनि संसद्मा प्रमुखताका साथ उठेका छन्। सांसद अप्सना बानुले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउन निकै सकस हुने गरेको बताउँदै कामदारको जीवन रक्षा र कल्याणमा ध्यान दिन माग गरिन्।

त्यस्तै, सांसद आर्यन राईले सरकारले ‘फ्री टिकट, फ्री भिसा’ को नीति ल्याए पनि कामदारहरू लाखौँ रुपैयाँ तिर्न बाध्य भइरहेको भन्दै यसको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरे। सांसद यशोदाकुमारी बरालले विदेशमा अलपत्र र समस्यामा परेका नेपालीहरूलाई तत्काल स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्।

सार्वजनिक यातायात र पूर्वाधारको दुरावस्थाप्रति सांसदहरूले आक्रोस पोखे। सांसद आशीष गजुरेलले सार्वजनिक यातायातमा यात्रुहरू गुन्द्रुक कोचिए झैँ कोचिएर यात्रा गर्न बाध्य भएको भन्दै यातायात सेवालाई आरामदायी र भरपर्दो बनाउन माग गरे।

साथै, लामो समयदेखि बिग्रिएको सिन्धुली जिल्ला अस्पतालको एक्स–रे मेसिन तत्काल व्यवस्था गर्न पनि उनले आग्रह गरे। सांसद आशिका तामाङले धादिङ खण्डको राजमार्गमा आउने समस्याको स्थायी समाधान खोज्न र विद्युतीय सवारीका लागि पर्याप्त चार्जिङ स्टेसन बनाउन माग गरिन्।

अन्य विकास आयोजना र स्थानीय मुद्दाहरूमा सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको हालै खोलिएको ट्रयाकलाई पूर्णता दिन स्रोत सुनिश्चितताको माग गरे भने सांसद केपी खनालले सुदूरपश्चिमको सेती लोकमार्ग लामो समयदेखि अलपत्र परेकाले छिटो सम्पन्न गर्न आग्रह गरे।

सांसद कबिन्द्र बुर्लाकोटीले गोरखाका विभिन्न पालिकामा सामान्य हावा चल्दा पनि बत्ती जाने समस्या रहेकाले जीर्ण पोल र तार फेर्न माग गरे। सांसद आशा झाले मोरङको क्षेत्र नं ५ मा रहेको विद्युत् र सञ्चार टावरको समस्या सुल्झाउन आग्रह गरिन्।

त्यसैगरी, शिक्षा र सुशासनका सवालमा सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयको शिक्षण पद्धतिमा भौतिक उपस्थितिलाई मात्र ज्ञानको मापन मान्ने भ्रम पालिएको भन्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्न माग गरिन्।

सांसद अशोककुमार चौधरीले विद्यालय व्यवस्थापन समितिहरूमा राजनीतिक भागबण्डा नगर्न स्थानीय तहहरूलाई आग्रह गरे। सांसद कुसुम महर्जनले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै करको दुरुपयोग गर्नेहरूलाई कारबाहीको माग गरिन्।

सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डको विवाद, सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिमाथि निष्पक्ष छानबिन र सांसद अर्जुननरसिंह केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

यसका साथै, सांसदहरू आकृति अवस्थीले डिजिटल बैङ्किङलाई सुरक्षित बनाउन, अमृता विकले अदालतसँग नबाझिने गरी निर्णय लिन र अम्बिकादेवी सङ्ग्रौलाले इन्धन आयात घटाएर स्वदेशी ऊर्जाको उपयोग बढाउन सरकारलाई सुझाव दिएका छन्।

धेरै पढिएको

छुटाउनुभयो कि ?