महाधिवेशनको तयारीमा रास्वपा: आज देशभरका १५०० वडामा एकैसाथ वडा अधिवेशन हुँदै

महाधिवेशनको तयारीमा रास्वपा: आज देशभरका १५०० वडामा एकैसाथ वडा अधिवेशन हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई जगैदेखि बलियो बनाउने उद्देश्यका साथ आज देशभरका विभिन्न वडाहरूमा एकैसाथ वडा अधिवेशन सुरु गरेको छ।

गत वैशाख २० गतेभन्दा अगाडि तदर्थ समितिहरू गठन भइसकेका करिब १ हजार ५०० वडामा आज नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागिएको हो।

रास्वपाका अनुसार हालसम्म देशभरका करिब ३ हजार वडाहरूमा पार्टीको तदर्थ समिति बनिसकेका छन्। तीमध्ये ५० प्रतिशत वडाहरूको अधिवेशन विभिन्न चरणमा यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ। तदर्थ समिति गठन भइसकेर पनि अहिलेसम्म अधिवेशन हुन नसकेका बाँकी वडाहरूको सांगठनिक प्रक्रियालाई पूर्णता दिन आजको मिति तय गरिएको हो।

पार्टीले वडा र स्थानीय तहको अधिवेशन दुई चरणमा सम्पन्न गर्ने विशेष रणनीति बनाएको छ। जसअनुसार जेठ ३ गतेभन्दा अगाडि तदर्थ समिति बन्ने बाँकी वडाहरूको हकमा भने आगामी जेठ १६ गते दोस्रो चरणको वडा अधिवेशन गरिने कार्यतालिका छ। वडा लगत्तै सुरु हुने पालिका अधिवेशन पनि दुई चरणमै विभाजन गरिएको छ, जसको पहिलो चरण जेठ ९ गते र दोस्रो चरण जेठ १७ गते सम्पन्न हुनेछ।

सांगठनिक सुदृढीकरणका लागि रास्वपाले एउटा खुकुलो र व्यावहारिक नियम पनि तय गरेको छ। जसअनुसार कुनै पनि पालिकाका कुल वडाहरू मध्ये कम्तीमा ३० प्रतिशत वडाको अधिवेशन सकिएमा र जिल्लाको हकमा पनि ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भइसकेमा माथिल्लो तहको अधिवेशन प्रक्रिया नरोकिने निर्णय पार्टीले गरेको छ।

यही कार्यतालिका अनुसार रास्वपाले आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। त्यस लगत्तै जेठ २६ गतेदेखि प्रदेश अधिवेशनहरू सुरु भई असार १ गतेभित्र देशैभर सम्पन्न गरिनेछ।

यसरी स्थानीय र प्रादेशिक तहका सबै अधिवेशनहरू सम्पन्न गरेपछि रास्वपाको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा भव्य रूपमा आयोजना हुनेछ। विशेष संयोग के छ भने, पार्टी गठन भएको ठीक चार वर्ष पुगेकै ऐतिहासिक दिन पारेर रास्वपाले आफ्नो पहिलो महाधिवेशनको मिति तय गरेको छ।

छुटाउनुभयो कि ?