चन्द्रागिरिमा घरायसी विवादमा भिनाजुद्वारा सालोको चक्कु प्रहार गरी हत्या

चन्द्रागिरिमा घरायसी विवादमा भिनाजुद्वारा सालोको चक्कु प्रहार गरी हत्या

काठमाडौं। काठमाडौँको चन्द्रागिरि नगरपालिकामा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै सालोको चक्कु प्रहार गरी हत्या गरेका छन्। महोत्तरी घर भई हाल चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा बस्दै आएका ३८ वर्षीय समि अहमतले नातामा सालो पर्ने २५ वर्षीय जाकिर मन्सुरीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार मृतक मन्सुरी र आरोपी अहमत दुवैको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका–५ हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार गएराति उनीहरूबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो। सोही विवाद उग्र रूप लिँदा अहमदले तरकारी काट्ने चक्कुले मन्सुरीमाथि घातक प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई तत्कालै उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल पुर्‍याइएको थियो। तर, उनको अवस्था क्रिटिकल भएकाले उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

घटना लगत्तै परिचालन भएको प्रहरी टोलीले हत्या आरोपी समी अहमदलाई नियन्त्रणमा लिएको छ। उनलाई अहिले प्रहरी वृत्त थानकोटमा राखेर घटनाको थप कारण र कानुनी प्रक्रियाबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। मृतक मन्सुरीको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल) मा राखिएको छ।

छुटाउनुभयो कि ?