निर्वाचनको पराजय, आन्तरिक विद्रोह र नेतृत्व परिवर्तनको दबाबले गर्दा गर्मायो राजनीति

निर्वाचनको पराजय, आन्तरिक विद्रोह र नेतृत्व परिवर्तनको दबाबले गर्दा गर्मायो राजनीति

काठमाडौं। नेकपा (एमाले) को शनिबार बस्ने भनिएको महत्वपूर्ण सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गर्नुभएको उक्त बैठक दुई दिन पछाडि धकेलिएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज (आइतबार) पर्ने मदन–आश्रित स्मृति दिवसको तयारीका लागि नेताहरू जुट्नुपर्ने र कतिपय पदाधिकारीहरू उपत्यका बाहिर जानुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो। गत मंसिरमा सम्पन्न ११औँ महाधिवेशनपछि बस्न लागेको यो आठौँ सचिवालय बैठक भए तापनि यसपटकको बैठकलाई एमालेभित्र चुलिएको आन्तरिक विवाद र सम्भावित समीकरण फेरबदलका कारण निकै चासोका साथ हेरिएको छ।

अध्यक्ष ओलीको स्वास्थ्य समस्या, हालैको गिरफ्तारी र तीव्र राजनीतिक घटनाक्रमका कारण लामो समयदेखि पार्टीको औपचारिक र निर्णायक बैठक बस्न सकेको थिएन। ‘जेन–जी’ आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा गत चैत १४ गते पक्राउ पर्नुभएका ओली अदालतको आदेशमा थुनामुक्त भएलगत्तै चैत ३० गते पत्थरीको शल्यक्रिया गराएर घरमै स्वास्थ्य लाभ गरिरेका छन्।

स्वास्थ्यमा पूर्ण सुधार नभए पनि पार्टीभित्रको गतिरोध अन्त्य गर्न उनी बैठक बस्न तयार भएका थिए। पार्टी सचिव महेश बस्नेतका अनुसार सोमबार बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन र सरकारका काम कारबाहीको समीक्षा गरिनेछ।

महाधिवेशन भएको पाँच महिना बितिसक्दा पनि रमेश बडाल, मीनबहादुर शाही, भीष्म अधिकारी र भानुभक्त ढकालबाहेक अन्य पदाधिकारी र नेताहरू ठोस जिम्मेवारीविहीन छन्। संस्थापन पक्ष कार्यविभाजन टुङ्ग्याएर नेताहरूलाई क्षेत्रमा खटाउने तयारीमा छ।

तर, पार्टीको असन्तुष्ट पक्ष भने कार्यविभाजनको एजेण्डा अगाडि सारेर हालै सम्पन्न निर्वाचनको शर्मनाक हारको समीक्षालाई ओझेलमा पार्न खोजिएको आरोप लगाउँछ। गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी जम्मा २५ सिटमा खुम्चिएको थियो भने ४९ जना उम्मेदवारको जमानत नै जफत भएको थियो।

पञ्चायतकालपछिको यो सबैभन्दा खराब पराजयलाई लिएर एमालेभित्र नेतृत्व परिवर्तन र नीतिगत सुधारको बहसले उग्र रूप लिएको छ। संस्थापन पक्षले भने बैठकमा सम्भावित विवाद छल्न निर्वाचन नतिजा समीक्षाका लागि एउटा कार्यदल बनाउने र त्यसैको प्रतिवेदनका आधारमा पछि छलफल गर्ने रणनीति बनाएको बुझिएको छ।

निर्वाचनको परिणामपछि अध्यक्ष ओलीका हिजोका सारथि र विश्वासपात्र मानिने नेताहरू नै अहिले उहाँको विकल्प खोज्ने पक्षमा उभिएका छन्। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाइसके छन्।

गुण्डु पुगेर उनीहरूले राखेको प्रस्तावमा ओलीले ठोस जवाफ नदिए पनि पार्टी नफुटाउन आग्रह गर्नुभएको स्रोतले जनाएको छ। पौडेल र पोखरेलको यो अभियानलाई उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त र उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले बलियो साथ दिएका छन्।

अहिले रामबहादुर थापा ‘बादल’ बाहेकका अधिकांश पदाधिकारी ओलीको विपक्षमा देखिएका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका बादलको सेनासम्बन्धी विवादित टिप्पणी र माओवादी पृष्ठभूमि भएका नेतालाई ओलीले काखी च्यापेको भन्दै पुराना एमाले नेताहरू पहिलेदेखि नै रुष्ट थिए।

पार्टीभित्रको यो विवाद नेतृत्व फेर्ने युवा विद्रोह र हस्ताक्षर अभियानसम्म पुगेको छ। युवा नेता कमल जोशीका अनुसार दुई हजार तीन सय महाधिवेशन प्रतिनिधिमध्ये करिब सात सय प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्दै हस्ताक्षर गरिसकेका छन्।

महाधिवेशनमा ७५ प्रतिशत वर्चस्व राख्ने ओली पक्ष अहिले आफ्नै पुराना नेताहरूले कित्ता फेरेपछि अल्पमतमा पर्ने खतरा बढेको छ। यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष ओलीबीच गुण्डुमा भएको दुई घण्टा लामो भेटघाटले एमाले वृत्तमा नयाँ तरंग ल्याएको छ। यस भेटलाई पार्टीको वर्तमान संकट र वैकल्पिक नेतृत्वका रूपमा भण्डारीलाई अगाडि सार्ने आन्तरिक कसरतको रूपमा विश्लेषण गर्न थालिएको छ।

आफूविरुद्ध घेराबन्दी कसिँदै गएपछि अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूमाथि कारबाहीको डण्डा चलाउन सक्ने वा आफ्नो पद जोगाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीसँग कम्युनिष्ट एकताको नयाँ कार्ड फाल्न सक्ने आशंका इतर समूहले गरेको छ।

पछिल्लो समय दुवै दलका शीर्ष नेताहरूबीच भइरहेको बाक्लो भेटघाटले एमालेका असन्तुष्ट नेताहरूलाई सशंकित बनाएको छ। आन्तरिक दबाबलाई निस्तेज पार्न शीर्ष नेताहरूले चाल्ने सम्भावित कदम र कार्यविभाजनको विषयले सोमबार बस्ने सचिवालय बैठकमा निकै रोचक र पेचिलो रूप लिने निश्चित देखिएको छ।

छुटाउनुभयो कि ?