वर्तमान सरकार जनतामाथि क्रुर र स्वाधीनताको मुद्दामा मौन बन्यो: राष्ट्रिय जेनजी-नागरिक अभियान

वर्तमान सरकार जनतामाथि क्रुर र स्वाधीनताको मुद्दामा मौन बन्यो: राष्ट्रिय जेनजी-नागरिक अभियान

काठमाडौं। राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान सरकारले राष्ट्रिय स्वाधीनताका मुद्दाहरूलाई उपेक्षा गर्दै जनतामाथि क्रुर र निरङ्कुश शासन चलाएको गम्भीर आरोप लगाएको छ। शनिबार राजधानीको संवाद डबलीमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधिहरू जनविरोधी बन्दै गएको दाबी गर्दै सरकारमाथि आफूहरूको निरन्तर र कडा निगरानी रहने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक सुनिल सिंहले वर्तमान सरकार राष्ट्रियताका संवेदनशील मुद्दाहरूमा रहस्यमय ढंगले मौन बसेको तर आन्तरिक रूपमा आफ्नै जनतामाथि भने अत्याचारी बनेको आरोप लगाए।

नेपाली भूमि लिपुलेकमा भइरहेको भारतीय रवैया र हस्तक्षेपप्रति सरकार लाचार एवं चुपचाप बस्ने तर देशभित्रका उत्पीडित वर्गमाथि निरङ्कुश र तानाशाही प्रवृत्ति लाद्ने कार्य सह्य नहुने सिंहले प्रस्ट पारे। यसैगरी सह-संयोजक अजय सोडारीले संसद् भवन र सिंहदरबार जस्ता महत्त्वपूर्ण संरचनाहरू जल्दा वा संकटमा पर्दा मौन बस्ने राज्यका निकायहरू गरिब सुकुम्बासी बस्तीमा डोजर चलाउन अग्रसर भएको भन्दै कडा आक्रोश व्यक्त गरे। वर्तमान सरकारमा 'होसभन्दा जोश' बढी भएका कारण विधिको शासन, थितिको शासन, स्थापित प्रणाली र कानुनी राज्यको गम्भीर उपहास भइरहेको टिप्पणी सोडारीले गरे।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले यो सरकार जेनजी (नयाँ पुस्ता) को बल र भरोसाबाट सत्तामा पुगेको स्मरण गराउँदै गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदन अनुसार पीडितहरूलाई न्याय दिन सरकार पूर्ण रूपमा असफल भएकोमा रोष प्रकट गरे।

उनले राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन समेत तत्काल सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरे। यसै क्रममा अभियानका सचिव प्रकाश बमले प्रधानन्यायाधीश, न्यायाधीश तथा अन्य संवैधानिक निकायका प्रमुखहरूको नियुक्ति राजनीतिक भागबन्डा र पुरानै गलत प्रवृत्तिबाट मुक्त हुन नसकेको भन्दै ती पदहरूमा योग्यता र खुला प्रतिस्पर्धाका आधारमा मात्र नियुक्ति गरिनुपर्ने धारणा राखे।

राष्ट्रियता र जनजीविकाको सवालमा केन्द्रित हुँदै अभियानका सुनिल विकले भारतले नेपालको कालापानी र लिपुलेक क्षेत्रबाट आफ्नो सेना फिर्ता नलगे राष्ट्रिय मुक्तिको लडाइँ लड्न नयाँ पुस्ता बाध्य हुने चेतावनी दिए। त्यस्तै, शुशिल बुढाथोकीले उचित विकल्प र व्यवस्थापन विना नै सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने कार्य गैरकानुनी मात्र नभएर मानवता विरोधी अपराध भएको जिकिर गरे। कार्यक्रमको अन्त्यमा अभियानका जनम सिंहले सरकारको कूटनीतिक अपरिपक्वता र अक्षमताकै कारण मुलुकको राष्ट्रियता र अन्तर्राष्ट्रिय छवि संकटमा पर्दै गएको आरोप लगाउँदै सरकारलाई तत्काल आफ्ना कार्यशैली सुधार्न आग्रह गरे।

छुटाउनुभयो कि ?